संसद्

राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइका विषयमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोड

इकागज |
साउन १३, २०७८ बुधबार १६:४२ बजे

काठमाडौँ - सांसदहरूले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा उनीहरूले कोभिडका कारण विकास निर्माणका कामको अनुगमन तथा मन्त्रालयलाई आवश्यक निर्देशन हुन नसकेको भन्दै अब भने यस बिषयमा समितिले विशेष ध्यान दिनुपर्ने बताए । 

बैठकमा समितिका सदस्य यज्ञराज सुनुवारले संसद् डेढ वर्षसम्म चल्ने देखिएकाले अबको एक वर्षको कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको स्थानीयस्तरमा महत्व भएकाले यसलाई निरन्तता दिनुपर्ने औँल्याए ।


त्यस्तै सांसद दुर्गा पौडेलले विगतमा अनुगमन गरेका आयोजनाको अवस्थाको बारेमा अनुगमन र समितिका बिगतको कामलाइ निरन्तरता दिनुपर्ने बताए । समिति सदस्य कमला रोक्काले विगतमा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको जिल्लामा मात्रै थुपारिने प्रवृत्ति देखिएकाले अबको समयमा दुर्गम जिल्ला तथा हिमाली क्षेत्रमा पनि वितरण हुनुपर्नेमा जोड दिए ।

समिति सभापति कल्याणी खड्काले अब समितिले बिकास निर्माणको कामको अनुगमन सुरु गर्ने र समितिलाई प्रभावकारी बनाउनुपर्ने बताए । सर्वोच्चबाट संसद्‍ पुनसर्थापना भए पनि समितिको पहिलो पटक बैठक बसेको हो । 


Author

थप समाचार
x