संसद्

राष्ट्रिय सभामा उठेका विषयहरू

इकागज |
साउन १३, २०७८ बुधबार १७:२८ बजे

काठमाडौँ- राष्ट्रिय सभाका सदस्यले मुलुकमा जनतालाई महसुस हुनेगरी सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सांसद उदया शर्मा पौडेलले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गरे । त्यस्तै उनले स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु भएको प्रष्ट पारे ।


सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिए ।

उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए । सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे । सांसद दिलकुमारी रावलले नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले निर्वाचन कानूनलाई समय अनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरे । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ बजे बस्नेछ ।


Author

थप समाचार
x