संसद्

खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

इकागज |
साउन २५, २०७८ सोमवार १७:२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धानगरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । 

खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिइन् ।‘खोपमा अनियमितता भएको विभिन्न सञ्चार माध्यामहरूमा आइरहेको अवस्थामा छानबिनगरी दोषी प्रमाणित भए कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’


समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरूको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सभापति जैरुले कोभिड संक्रमितहरूको संख्यामा वृद्धि हुन लागेकाले उनीहरूको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पारिन् ।

बैठकमा समितिका सदस्यहरूले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य एवम् नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले अस्पतालहरूमा समेत भिडभाड हुने अवस्था आएको कारण कोभिड संक्रमणको दर बढेको हुन सक्ने औंल्याउँदै त्यसो हुन नदिने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सचेत गराए । उनले कोभिड संक्रमणबाट नागरिकलाई बचाउन भिडभाड हुने ठाउँमा आवश्यक जनशक्ति परिचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको बताए । उहाँले कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजीरहेको जानकारी समितिलाई गराउनु भएको थियो ।


Author

थप समाचार
x