संसद्

संसद्‍मा ओलीमाथि गगनको कटाक्ष : कठैबरा राजनीतिक प्रणालीबारे थाहै रैनछ

इकागज |
साउन २८, २०७८ बिहिवार १८:५३ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रणाली र पद्धतिबारे थाहा नभएको भन्दै टिप्पणी गरेका छन् । आज(शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले ओलीलाई प्रतिपक्षीकै हैसियतमा सुहाएको बताएका हुन् ।  

‘उहाँ(ओली) यहाँ आइराख्नुपर्छ । प्रश्‍न गरिरहनु पर्छ । प्रश्‍न किन कस्ले गरेको हेरिन्छ,’  उनले भने, ‘मलाई विश्वास गरेर नागरिकले मत दिएको भनिरहँदा मैले मनमनै भनेँ । कठै बरा राजनीतिक प्रणालीको बारेमा थाहा रैनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन् । माननीयले मनलाग्नेलाई सम्माननीय बनाउँछन् यहाँ राख्छन् । नलाग्नेलाई उता पठाउँछन् ।’


२०८ सांसद हुँदा के गर्नु भयो ? 

मंगलबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दा नेपाली भूमि कहिले फिर्ता ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको प्रश्‍नको पनि थापाले खण्डन गरेका छन् । थापाले ओलीले एमसीसी के गर्नुहुन्छ भनेर सोधेको प्रश्‍नमा प्रतिप्रश्‍न गरेका छन् । 

‘उहाँ (ओली)ले भन्नु भो भूमि फिर्ता कहिले आउँछ ? यसो गनेर हेरेको एक पक्ष, दुई पक्ष अनेकौँ पक्षका वर्ता भएछ भारतसँग । एक पटक चुइँक्क भूमिको बारेमा बोल्नु भएन,’ उनले भने, ‘  १६५ सांसद छ अब एमसीसी के गर्छाै भनिरहँदा यसो सम्झेको उहाँसँग त २०८ रहेछ । २०८ हुँदै गर्दा के गर्नु भएको थियो होला ?’ 

संवैधानिक निकायलाई पंगु बनाउने ? 

ओलीले भ्रष्टाचारको विषयमा कुरा गर्दा आफू झुक्किएको भन्दै थापाले संविधानलाई पंगु बनाएको भन्दै आक्रोश व्यक्त गरे । ‘सबैभन्दा छक्क परेको उहाँले भ्रष्टाचारको कुरा गर्दा । म त झुक्किएँ । माननीय हुँदा होइन जतिखेर सम्माननीय हुनुहुन्थ्यो त्यतिखेर दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने । काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानबिन गर्न संविधानले बनाएको निकायलाई पंगु बनाउने गर्नुभयो,’  उनले थपे, ‘विद्येयकको कुरा गर्नु भयो ।  बनाउनुपर्ने कानुन बनाउँदै नबनाउने । नबनाउनुपर्ने कानुन एकपछि अर्काे बनाउने ।  बनाएर संसद्तिर आयो भने बाटोमै छेक्दिने ।’ 

थापाले पञ्चायतकालपछि पहिलो पटक सत्तापक्षले नै सडकमा शक्ति प्रदर्शन गरेको भन्दै ओलीमाथि टिप्पणी गरे । उनले ओलीले आफूले संयमता अपनाएर, सजक भएर सरकार सञ्चालन गरेको भन्ने गरेको भन्दै आपत्ति पनि जनाए ।  त्यस्तै ओलीले आफू सरकारमा हुँदा संविधानले नै व्यवस्था गरेको प्रतिपक्षीलाई ‘आउट’ गरेको आरोप पनि लगाए ।   

गठबन्धनको यत्रो चिन्ता ?

ओलीले अहिले गठबन्धनको सरकार के कारणले बन्यो भन्ने कुरा अझै हेक्का नगरेको बताए । गठबन्धन बन्यो भनेर चिन्ता गर्ने ओलीले दुई तिहाइ नजिकको केन्द्रको प्रदेशको सरकार आफ्नै अहंकारको कारण गएको भनेर अझै किन नसम्झिएको भनेर प्रश्‍न गरे । 

‘गठबन्धन भित्रियो भनेर कत्रो चिन्ता ? यो सिंगो संसद्बाट करिब करिब दुई तिहाइको सरकार थियो ।  एउटै पार्टीको बहुमत भएको सरकार थियो,’ थापाले भने, ‘यहाँमात्रै होइन प्रदेशमा पनि थियो ।  जताततै गठबन्धन मेरै अहंकारको कारणले आएको हो भनेर सम्झनु भयो कि भएन होला ?’ 

आफ्नै उपचार गर्न सरकारको ढुकुटीमा हात फैलाउनेले पार्टी कार्यालयमा बोलाउने ? 

ओलीले नेपालका विभिन्न राजनीतिक घटना तथा द्वन्द्वमा परेर घाइते भएकाहरुलाई उपचारको लागि आफूले व्यवस्था मिलाउने भनेको प्रति पनि थापाले कटाक्ष गरे । उनले भने, ‘मलाई उद्येयक कतिखेर लाग्यो भने ए घाइते योद्धाहरु सरकारले तिमिहरुको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउ भनेर भन्नु भयो । यसो भनिरहँदा कठै बरा आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान् ? मैले सम्झिएँ ।’

परमादेश सरकार भन्ने सांसदलाई यस्तो जवाफ 

अहिले नेकपा एमालेका सांसदहरुले सरकारको विषयमा बोल्ने बित्तिकै परमादेशबाट बनेको सरकार भनेर सुरु गर्छन् । बिहीबारको प्रतिनिधि सभामा पनि त्यो चलिहाल्यो । तर, थापाले परमादेशबाट बनेको सरकार भन्नेलाई जवाफसँगै प्रश्‍न पनि गरे । 

‘यहाँ एक जना माननीयज्यूले परमादेशको सरकार भन्नु भयो । उहाँ त्यही परमादेशको आधारमा यहाँ आउनु भएको छ । थपक्क बस्नु भएको छ । कोही जानेवाला हुनुहुन्न राजीनामा दिएर । बिल्ला लाएरै आउनुहुन्छ’ उनले भने । एमालेका सांसदहरुलाई प्रतिपक्षीमा बस्न गाह्रो भएको विषयमा उनले व्यंग्यात्मक टिप्पणी गरे । ‘बोसो लागेको बेलामा प्रतिपक्षमा बस्न  गाह्रो हुन्छ । केही समयपछि बानी पर्छ ।’

सरकार सही मति, द्रुत गतिमा हिँड्नु पर्छ 

थापाले केपी ओलीले संसद्मा सोधेको प्रश्‍नको जवाफ अहिलेको सरकारले दिनुपर्ने बताए । ओलीले बोल्दै गर्दा आक्रोश, क्रोध, कुण्ठा जेजे भए पनि अहिलेको सरकारले सबैको जवाफ कामबाट दिनुपर्ने बताका हुन् । 

‘उहाँ (ओली)को  प्रश्‍नमा थुप्रै आक्रोश थियो, क्रोध थियो, इष्र्या थियो । रिस, कुण्ठा थियो । तर, पनि म सरकारलाई भन्न चाहन्छु प्रतिपक्षले गरेको प्रश्‍न निम्सरो होइन ।  प्रश्‍न प्रश्‍न नै हो । प्रश्‍नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले प्रधानमन्त्री देउवालाई आग्रह गर्दै भने, ‘एउटा एउटा प्रश्‍नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ ।  तर, गफ र कुराबाट होइन कामबाट । एक्सनबाट दिनुपर्छ । साझा न्यूनतम कार्यक्रम आयो । एउटा दिशा आयो । जनता अब सरकारको दिशा हेरेरमात्रै चित्त बुझाउँदैनन् । सही मतिबाट द्रुत गतिमा सरकार हिँडेको हेर्न चाहन्छन् ।’ 

मन्त्रिपरिषद्लाई पूर्णता किन नदिएको ? 

थापाले सरकार गठन भएको महिनादिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्‍न गरे । थापाले कोभिड महामारीको समयमा खोप, खोपको व्यवस्थापनसँगै अन्य क्षेत्रमा सरकारले कत्तिको ध्यान दिएको छ भनेर पनि सोधे । 

‘प्रधानमन्त्रीलाई मेरो प्रश्‍न मन्त्रिपरिषद्लाई पूर्णता किन नदिएको ? यत्रो दिनसम्म भित्रका राजनीतिक खटपट के छ जनतासँग सरोकार हुने विषय होइन । द्रुत गतिमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ,’ उनले भने, ‘खोपको प्राथमिकता सरकारले ठिक ढंगबाट लिएको छ । व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’ 

चाडवाड नजिकै आएको भन्दै थापाले त्यसको लागि पनि सतर्क भएर लाग्नुपर्ने बताए । ‘दशैँमा भारतको खुला सीमाबाट लाखौँ लाख मानिस आउँछन् । काठमाडौँबाट गाउँ जान्छन् । हामी चैतमा खोप पुर्‍याउने कुरा गर्दैछौँ । कति प्रतिशतले असोज, कात्तिकमा खोप पाउँछन् ?,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्‍न गर्दै उनले भने, ‘हामीले खोपबाहेक अरु गर्नुपर्ने पूर्व तयारी कति गरेका छौँ ? कोभिडको कारणले देखिएको स्वास्थ्य क्षेत्र थला परेको छ । गैरस्वास्थ्य क्षेत्र बाँकी छ ? कृषि, स्वास्थ्य, सेवा, पर्यटन हेर्नुस त। कति मान्छे कंगाल बनेका छन् । घरबार डुबेको छ । यो क्षेत्रमा ठोस काम गर्नुपर्छ कि पर्दैन ?  


Author

थप समाचार
x