संसद्

संघीय संसद्का दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै

इकागज |
भदौ २३, २०७८ बुधवार ६:४३ बजे

काठमाडौं - संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै छ। । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबारका लागि आह्वान गरेकी हुन् । दुवै सदनको बैठक अपराह्न ४ बजे बस्‍नेछ । 

दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । यसपटक संसद्‍मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो। सबै दलका नेताहरू अगाडि रहनेगरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको सचिवालले जनाएको छ । 


सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

यता, नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ । एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कार्यशैलीलाई लिएर विभिन्न टिप्पणी गर्दै आएका छन् । यसअघि संघीय संसद्को दुवै सदनको अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।


Author

थप समाचार
x