संसद्

राष्‍ट्रिय सभामा एमालेको अवरोधबीच चार वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

इकागज |
असोज १८, २०७८ सोमबार १३:१४ बजे

काठमाडौँ - राष्ट्रिय सभाले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधबीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विरोध गरेको छ । 

 एमालेको विरोधबीच बैठकले सरकारले पेस गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टेबल भएको छ ।


एमालेले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन । एमालेले कारबाही गरेका १४ जना सांसदहरूको निस्कासनको सूचना नटाँसेको भन्‍दै सभामुखको विरोधमा एमाले आन्दोलित छ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गर्ने गरेको छ भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर विरोध जनाउने गरेका छन् । 

आजको बैठकमा राष्ट्रिय सभा सदस्य पार्वती रावलले सरकार गैर कानुनी रूपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैर संवैधानिक र दलीय स्वार्थ केन्द्रित भएका कारण एमालेको विरोध जारी रहने बताए । ‘सरकार श्रमजिवीको पक्षमा होइन पुँजिपतिहरूको कालो धनवालाहरूको संरक्षणमा सरकार लागिरहेको छ । संसदको ठुलो दल प्रमुख प्रतिपक्षी दल सँग सरकार छलफल गर्न चाहादैन । सरकार गैरकानुनी ढंगबाट अगाडि बढेको छ । अध्यादेशबाट शासन सञ्चालन गर्दैछ । सभामुखको व्यवहार गैर संवैधानिक, दलीय स्वार्थ केन्द्रित देखिन्छ । एउटै अवस्था र घटनामा फरक फरक व्यवहार सभामुखबाट भएको छ । यस्तो फरक र गलत व्यवहार नसच्चिएसम्म हाम्रो विरोध जारी रहेको कुरा पनि म जानकारी गराउँछु । यही अवस्थामा हाम्रो दलको विरोध जारी रहेको कुरा म जानकारी गराउन चाहान्छु ।’

लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भयो : देवकोटा

यस्तै बैठकमा बोल्दै सांसद डा. खिमलाल देवकोटाले एक महिनादेखि संसद्‍मा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरूको मानव अधिकार हनन् भएको बताए । सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरू प्रयोग हुने गरेको भन्दै उनले नियमापत्ति जनाए । ‘झन्डै एक महिना भयो अधिवेशन सुरु भएको । यतिका दिनदेखि हाम्रो मुख थुनिएको छ । बोल्न दिइएको छैन । सांसदको मानव अधिकार हनन् भएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भयो । यसमा खेद छ । प्राय सबै बैठकहरुमा विपक्षी दलका मान्यज्यूहरुबाट प्रतिनिधि सभाका सम्माननीय सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरु प्रयोग भएका छन् । म प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २६ अनुसार नियमापत्ति गर्दछु ।’

सांसद देवकोटाले अदालतमा विचाराधिन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानुनी व्यवस्था हुँदाहुँदै संविधान र कानुनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरू भइरहेको भन्दै त्यसको भत्सर्ना गरे । राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतवार दिउँसो २ बजे बस्ने भएको छ ।


Author

थप समाचार
x