संसद्

संसद्‍को गतिरोध

एमालेसँग सम्‍वाद गर्न सभामुख तयार

'म सबै कामको समीक्षा गर्छु, उहाँहरूले पनि गर्नुहुन्छ भन्ने आशा छ'

इकागज |
असोज २७, २०७८ बुधवार १३:७ बजे

फाइल तस्बिर

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍को गतिरोध अन्त्य गर्न नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

‘पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ,अन्तिममा फेरि संवादको विकल्प छैन,' उनले भने, 'ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । मैले ड्यासबाट नै पनि उहाँहरूलाई विनम्रता पूर्वक नै संसद्को‍ गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ । सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो । के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख,विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ । सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ, मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ ।'


अहिले १५ दिनको समय रहेको भन्दै कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा आफू आशावादी रहेको उनले बताए । सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनस्थापना गर्न लागि परे जस्तै संसद सुचारु रूपमा चलाउन संसदहरूले पहल गर्नुपर्ने बताए। उनले संसद्ला‍ई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू,सबै उपायहरू अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु,' उनले भने, 'म कहाँनेर अलि बढी चिन्तित छु भने संसद्का‍ लागि हामीले पुनर्स्थापना गर्नका लागि जति पहल गर्यौं, प्रयत्न, परिश्रम, त्यत्तिकै त्यसलाई प्रभावकारी बनाउन, सबलीकरण गर्नका लागि जीवन्त र जनमुखी बनाउनका लागि मेरो पनि पहलकदमी गुणात्मक ढंगले बढ्नुपर्छ नै, त्यसमा कुनै द्वीमत नै छैन । तर पार्टी, पार्टीका नेता, अझ सांसदहरूमा त्यसलाई प्रभावकारी बनाउनका लागि चाहे अध्ययन, चाहे छलफल र संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहेनतको जरुरत हुन्थ्यो नि, संदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरूमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए । उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए। उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीका आधारमा

 


Author

थप समाचार
x