दल

माओवादीमय बन्‍यो बाबुरामको गृहजिल्ला गोरखा

११ पालिकामध्ये माओवादीले ९, कांग्रेसले जित्यो २

इकागज |
जेठ ६, २०७९ शुक्रबार ९:५१ बजे

काठमाडौँ- ११ पालिका रहेको गोरखामा सबैको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये माओवादीले ९ पालिका जितेको छ भने कांग्रेसले २ पालिका जितेको छ ।

गोरखा जसपाका संघीय परिषद्‌का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला हो । गृहजिल्ला त परैको कुरा भट्टराईले गृहनगर पालुङटार नगरपालिकामा पनि जित निकाल्न सकेनन् । पालुङटारमा गठबन्धनलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको छ । नैतिकतालाई धरौटीमा राखेर सत्तागठबन्धन बाहिर पुगेर एमालेसँग गठबन्धन गरेका भट्टराईले गृहनगरमै हार व्यहोरेका छन् । मेयरमा जसपा-एमालेको गठबन्धन उपविजेता बने पनि उपमेयरमा भने कांग्रेस निकटतम प्रतिस्पर्धी बनेको छ । 


देशभरका माओवादीलाई गोरखाले राम्रो सन्देश दिएको माओवादी वृतमा चर्चा हुने गरेको छ ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहजिल्ला पनि हो गोरखा । श्रेष्ठको सिरानचोक गाउँपालिका हो । सिरानचोकको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको छ ।

चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ । सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ ।’ 

जतिबेला डा. भट्टराईले यो वक्तव्य दिँदै थिए, त्यसबेला गोरखामा सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) बीच भागबण्डामा कुरा नमिल्दा अन्योलता थियो । त्यति नै बेला भट्टराईले सबैलाई मिलाएरभन्दा फाइदा हेरेर दुई वा तीन दलीय गठबन्धन गर्दा हुने संकेत गरेका थिए । 

सोही दिन डा. भट्टराईले भनेका थिए, ‘सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन । गयो भने राजनीतिक नैतिकता रहन्‍न । गर्नै हुन्‍न भन्‍ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन ।’

भट्टराईले सत्ता गठबन्धनकै प्रयोग गरेर आफ्नो गृहनगर पालुङटारमा जसपाको नेतृत्व ल्याउन हदैसम्मको प्रयास नगरेका पनि हैन । स्रोतका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पालुङटारमा कांग्रेसले जसपालाई मेयर जिताउन साथ आग्रह गरे ।

देउवाले एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय गरेर उम्मेदवारी दर्ता गराइसकेका कांग्रेसका मेयर पदका उम्मेद्वारलाई उ्म्मेद्वारी फिर्ता लिन हदैसम्म दबाब दिए । सहजै उम्मेदवारी फिर्ता लिन नमानेपछि मनोनयन फिर्ताको दिन देउवाले नै निर्वाचन अधिकृतको कार्यालयमा आफैंले पालुङटारमा कांग्रेसको मेयर पदका उम्मेद्वारको उम्मेदवारी फिर्ता गर्न भन्दै पत्र पठाए । 

तर, उम्मेदवारी फिर्ताको समय सकिएपछि पत्र आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले देउवाले पठाएको त्यो पत्रको कार्यान्वयन गरेन । त्यसपछि पनि देउवाले आफ्ना उम्मेद्वारलाई निवासमा बोलाएर उम्मेदवारी स्थगन गर्न  दबाब दिए ।

तर, देउवाको जोडबल पालुङटारका कांग्रेसी नेता, कार्यकर्ताले सुनेनन् । भट्टराईले आफ्नो गृहनगरमा आफ्नै पार्टीको मेयर बनाउन र देउवाले सरकार जोगाउन अन्तिम अवस्थासम्म पनि गरेका अनेक प्रयासले काम गरेन । अनि, यहाँ सबै दलहरू एक्लाएक्लै चुनावमा जाने निर्णय गरे । 

तर, भट्टराई भने गृहनगरमा आफ्नै पार्टीको नेतृत्व ल्याउने कुराको ‘सोख’ लाई यत्तिकै मेटाउन सकेनन् । अन्ततः सत्ता गठबन्धन दल बाहिर गएर चुनावी तालमेल गरे राजनीतिक नैतिकता रहन्‍न भनेका भट्टराईले एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरे ।  मतदान सुरु हुनुभन्दा तीन दिनअघि गत २७ वैशाखमा पालुङटार नगरपालिकामा जसपाले मेयर र एमालेले उपमेयर लिने गरि तालमेलको सहमति भयो ।  अनि, जसपा-एमालेको गठबन्धन मिलेर चुनावी मैदानमा होमियो । 

कुन पालिका कसले जिते ?

अजिरकोट गाउँपालिका
अध्यक्ष, दीपक देवकोटा, माओवादी
उपाध्यक्ष, अनिता भुजेल, माओवादी

आरुघाट गाउँपालिका
अध्यक्ष, राजु गुरुङ, कांग्रेस
उपाध्यक्ष, कल्पना नेपाली, कांग्रेस

गण्डकी गाउँपालिका
अध्यक्ष, दिपक तिमिल्सिना, माओवादी
उपाध्यक्ष, ललिता अधिकारी, कांग्रेस

गोरखा नगरपालिका
मेयर, कृष्णबहादुर राना, माओवादी
उपमेयर, मसलीमाया थोकर, पुन कांग्रेस

धार्चे गाउँपालिका
अध्यक्ष, लक्ष्मण गुरुङ, माओवादी
उपाध्यक्ष, सुनिता गुरुङ, माओवादी

पालुङटार नगरपालिका
मेयर, विवस चिन्तन, माओवादी
उपमेयर, वन्दना पाण्डे, माओवादी

बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष, विष्णुप्रसाद भट्ट, माओवादी
उपाध्यक्ष, सनमाया गुरुङ, माओवादी

भिमसेन थापा गाउँपालिका
अध्यक्ष, लोकप्रसाद बन्जारा, माओवादी
उपाध्यक्ष अमृतादेवी वस्ती, (भट्ट) कांग्रेस

सहिद लखन गाउँपालिका
अध्यक्ष, रमेशबाबु थापा मगर, माओवादी
उपाध्यक्ष, इन्दिरा तिवारी, माओवादी

सिरानचोक गाउँपालिका
अध्यक्ष, ज्ञानेन्‍द्र गुरुङ, कांग्रेस
उपाध्यक्ष, रिता देवकोटा, कांग्रेस

चुमनुव्री गाउँपालिका
अध्यक्ष, निमा लामा, माओवादी
उपाध्यक्ष, लक्ष्मी गुरुङ, माओवादी


Author

थप समाचार
x