दल

७३४ वटा पालिकाको नतिजा सार्वजनिक : कसले कति जिते ?

इकागज |
जेठ १०, २०७९ मगलवार ६:५५ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । हालसम्म ७३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । 

जसअनुसार नेपाली कांग्रेसले हालसम्म नगरपालिकामा १३४ मेयर जितेको छ । त्यस्तै १८८ गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ। त्यसैगरी २९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । 


नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख जितेको छ । २२९ वटा पालिकाको उपप्रमुख पद जितेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ । १२८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीले जित पक्का गरेको छ । 

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख, नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकाको प्रमुख र २३ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख र १२ वटा पालिकाको उपप्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख, नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ ।

जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख, नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।

विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख, जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

१२ जना स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख जितेका छन् भने ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन् ।


Author

थप समाचार
x