दल

एमालेमा 'अन्तर्घात'को चर्चा : प्रमुख सचेतक भन्छन्- उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ

इकागज |
जेठ १२, २०७९ बिहीबार १०:१२ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय व्यहोर्नुपरेको कारण मध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ ।  अध्यक्ष केपी शर्माले अन्तर्घातका कारण पराजय बेहोर्नु परेको निष्कर्ष निकालेका हुन् । 

निर्वाचन परिणाम आइसक्न लाग्दा अध्यक्ष ओली पार्टीले पराजय व्यहोर्नुको कारणमध्ये अन्तर्घात पनि भएको निष्कर्ष सुनाएका हुन् । महानगरपालिकामा पार्टीका उपप्रमुख पदका उम्मेदवारहरूले मात्र निर्वाचन जितेपछि बुधबार संसदीय दलको बैठकमा ओलीको यस्तो निष्कर्ष आएको हो । 


३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर पोखरेलले भने १ जेठमा विज्ञप्ति निकाल्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित नभएको देखि एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको सँगै सत्ताको चरम दुरुपयोग भएको आलोचना गरेका थिए । 

पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई यस्तो अन्तर्घात यसअघि नदेखिएको बताउँछन् । उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्ने उनको भनाइ छ । ‘हाम्रो पार्टी (एमाले)मा यस्तो अन्तर्घात यसअघि देखिएको थिएन,' उनी भन्छन्, 'उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ ।’

नेपाली कांग्रेसले लामो समयदेखि अन्तर्घात सहँदै आएको छ । उम्मेदवार चयनमा चित्त नबुझेका नेता, कार्यकर्ताहरूले निर्वाचनमा असहयोग गरेर पार्टीका आधिकारिक उम्मेदवारहरूलाई पराजित गर्नुलाई दलहरूले अन्तर्घात भन्दै आएका छन् । २०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसमा अन्तर्घातको चर्चा चलेको थियो । 

अन्तर्घात गर्ने नेता गिरिजाप्रसाद कोइराला र उनले अन्तर्घात गर्दा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई वर्तमान राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग पराजित हुनुपरेको अहिले पनि कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।


Author

थप समाचार
x