दल

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का

इकागज |
जेठ १३, २०७९ शुक्रबार १९:२३ बजे

फाइल फोटो

चितवन - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । 

कांग्रेस चितवनले आज आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए । 


उनले भने, `२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।` स्थानीय जनप्रतिनिधिका​ आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए । 

देशमा दिगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्यांकनबाट मात्रै सम्भव हुने बताए । 

पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए । उनले भने, `निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।` पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र संघीय निर्वाचन हुने बताए । रासस


Author

थप समाचार
x