दल

बजेट कार्यान्वयन फितलो हुनेमा माधव नेपालको चिन्ता

इकागज |
जेठ १६, २०७९ सोमबार १८:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् । 


उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘आम रुपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पदार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सिमित हुने हो कि व्यवहारमा लागु हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । कार्यान्वयनको समस्या नै अहिलेसम्म एउटा महत्वपूर्ण समस्याको रुपमा रहेको छ । कतिपय कार्यक्रमहरु राम्रो देखिएको भएतापनि तर हामीकहाँ कार्यान्वयन गर्ने कुराको सन्दर्भमा क्वालिटीको काम भयो कि भएन र हामीले तोकेको रकम या हामीले तय गर्न खोजेको परियोजना लगानी र त्यसले दिने प्रतिफल यो दुवै कुरालाई विचार गरेर तय गरिएको छ कि छैन ? हामी हजारौँ परियोजना अघि सार्छौ एकैचोटी । सक्दै नसक्ने, भ्याउँदै नभ्याउने, सम्भव नै नहुने थुप्रै परियोजनाहरु अगाडी सार्छौ र सबैमा कनिका छरेजस्तै बजेट पनि छर्ने गरेका छौँ । यसले गर्दाखेरी ठोस रुपमा भएको काम जुन देखिनुपर्ने हो त्यो काम गौरव गर्नुपर्ने हो, त्यो काम देखिदैन ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमीकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । 

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरे । 


Author

थप समाचार
x