दल

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि धुलिखेलमा

इकागज |
जेठ १८, २०७९ बुधबार १४:१२ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि काभ्रेको धुलिखेलमा बस्दै छ । बैठक भोलिसम्म हुनेछ ।  

मिराबल रिसोर्टमा बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी दुई तहको निर्वाचनको रणनीतिक तयारीबारे पनि छलफल हुने भएको छ ।


अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षता गर्ने बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द, पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू पनि सहभागी हुने प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए । 

राप्रपा यस पटक झापाको दमक नगरपालिकामा बाहेक अन्य स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचनमा गएको थियो । एक्लै जाँदा पनि झापाकै हल्दिबारी गाउँपालिका, काठमाडौंको शंकरापुर नगरपालिकासँगै रुपन्देहीमा शिवराज नगरपालिका राप्रपाले जितेको छ ।

चार स्थानीय तह जिते पनि राप्रपाले जनलहर पार्टीको पक्षमा आएको निर्वाचनअघि दाबी गरिसकेको छ । तर, भोलिसम्म हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकको निष्कर्ष के हुन्छ कुर्नुपर्ने भएको छ । 

निर्वाचनअघि राप्रपाबाट एक जना पूर्वअध्यक्ष कमल थापा भने अलग भएका छन् । उनी हाल राप्रपामा नेपालका अध्यक्ष छन् ।

उनी अलग भए पनि पार्टीको गत मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ठूलो टिम र पूर्व दुई अध्यक्षसँगै एक जना पूर्वप्रधानमन्त्री चन्द पनि राप्रपामै छन् । 


Author

थप समाचार
x