दल

भारी मनले राजतन्त्रको एजेण्डा परित्याग गरेँ : कमल थापा

‘राजतन्त्रको एजेण्डा छाडे लिङ्देङसँग पार्टी एकता हुन सक्छ’

इकागज |
जेठ २६, २०७९ बिहीबार १२:४७ बजे

बुटवल - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना समाप्त भएकोले आफूहरूले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन् । असम्भव एजेण्डा लिएर जनतालाई गुमराहामा राख्ने, कार्यकर्ताहरूलाई भ्रम र धोकामा राख्ने काम उपयुक्त नहुने भएकाले आफूले राजतन्त्रको एजेण्डा छाडेको उनले बताए । 

राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिद्वारा बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले असम्भव एजेण्डा बोकेर जाँदा हिन्दु राष्ट्रलगायतका एजेण्डा ओझेलमा परेकाले आफूले भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रलाई मुख्य एजेण्डा बनाएको बताए ।


‘राजतन्त्र पुनर्स्थापना हुने सम्भावना समाप्त भएको छ । स्वयं राजालाई पनि राज संस्था पुर्नस्थपना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठूलो आंशका छ । यो स्थितीमा असम्भव एजेण्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्नु हुँदैन् । यसकारणले राजतन्त्रको एजेण्डालाई हामीले भारि मनले परित्याग गरेका हौँ,’–अध्यक्ष थापाले भने ।

यस्तै नेपालमा धर्म निरपेक्षता वा हिन्दू राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने बताएका छन् । राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थपनालाई मुख्य एजेण्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए ।

‘सकेसम्म सर्वपक्षीय सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने हाम्रो माग छ । यदि सर्वपक्षीय सहमति हुन सक्दैन् भने जनमत संङग्रहबाट धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने बारेमा टुङ्गो लगाइयोस्,’–उनले भने । 

आग्रामी भदौदेखि हिन्दु राष्ट्र पुर्नस्थपनाका लागि देशव्यापिरूपमा जनसङघर्षको कार्यक्रम सञ्चालन गर्ने बताए । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने बताए । वर्तमान संघीय स्वरुपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको स्वरुप कायम गर्नु उपर्युक्त हुने उनको धारणा रहेको छ ।

यस्तै अध्यक्ष थापाले राजेन्द्र लिङ्देङ नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको बताए ।
बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उदेश्यसहित जनता माझ राप्रपा नेपाल अभियान लिएर देश दौडाहमा हिडेका अध्यक्ष थापाले हिजो बुटवलमा विभिन्न पेसागत संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गरेका थिए ।

त्यस्तै राप्रपा नेपालले हिजो र आज बुटवलमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला समेत गरेको प्रदेश अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।
 


Author

थप समाचार
x