दल

स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन सकेन :  प्रदीप पौडेल

इकागज |
जेठ २६, २०७९ बिहीबार १७:० बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनबारे पार्टीभित्रै फरक–फरक धारणा रहेकाले प्रभावकारी हुन नसकेको बताएका हुन् । 

उनले पार्टी भित्रकै सम्पूर्ण शक्ति जिताउनका लागि नलागेको पनि बताए । गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको उनको भनाइ छ । 


‘गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ । उथलपुथल बनाएको छ । पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन । गठबन्धन पनि प्रभावकारी हुन सकेन,' उनले भने, 'त्यो भन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई जिताउनको निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ । केन्द्रीय तहबाट गठबन्धनका बारेमा जुन निर्णयहरू गरिएको छ । स्थानीय तहले त्यसलाई लागु नगरेको स्थिति पनि छ । त्यसैले गठबन्धनले अपेक्षित परिणाम दिन सक्दैन ।’

केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताए । उनले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गरे । 

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्र्तगतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक समेत रहेका नेता पौडेलले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको बताए । उनले वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको बताए ।

उपसमितिले स्थानीय तह निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको उनले जानकारी दिए । उहाँले नेपाली कांग्रेसले १४१ स्थानमा नगरप्रमुख, १८८ स्थानमा गाउँपालिका अध्यक्ष, ११० स्थानमा नगर उपप्रमुख र १९० स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको जानकारी दिए । त्यसैगरी, २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुला सदस्य जितेको पनि उनले बताए ।  


Author

थप समाचार
x