दल

के घनश्याम भुसाललाई कारबाहीबाट पछि हटेको हो एमाले ?

कमल विष्ट |
जेठ ३०, २०७९ सोमवार ११:११ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्‍ने बैठकमा मुख्यगरी गत वैशाख ३० गते सम्पन्‍न स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको कमजोर नतिजाबारे छलफल हुने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

विष्टका अनुसार निर्वाचनको समीक्षाबाहेक अन्य विषयमा पनि बैठकमा छलफल हुनेछ । ‘मुल विषय यही नै हो,’ विष्टले भने, ‘यसबाहेक जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्‍न विभागलाई पूर्णता दिने र भ्याएको खण्डमा घनश्याम भुसालको कारबाहीको विषयमा पछि छलफल हुनेछ ।’


एमालेभित्र स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको विषय पेचिलो बनेको छ । तीन साताअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए । आलोचनापछि करिब दुई साताअघि एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बसेको बैठकले भुसाललाई कारबाहीको लागि केन्द्रीय सचिवालयमा सिफारिस गरेको थियो । उनलाई कारबाही गर्ने/नगर्ने निर्णय सचिवालय बैठकको हो । तर, आज बस्न लागेको सचिवालय बैठकमा भुसाललाई कारबाहीको विषय मुल अजेण्डामै परेको छैन । एमाले भुसाललाई कारबाही गर्ने विषयमा किन एकाएक पछाडि हट्यो ?

अनुशासन आयोग अध्यक्ष बडालले भुसाललाई कारबाहीको विषयबाट एमाले पछाडि नहटेको बताउँछन् । यो विषय त्यति महत्वपूर्ण नभएकाले यसलाई नै सचिवालय बैठकको मुख्य अजेन्डा नबनाइएको बताए । 

‘आजको बैठकमा यो विषयमा पनि छलफल हुनसक्छ । कारबाहीको विषय त्यति लामो समय छलफल गर्नुपर्ने विषय होइन,’ बडालले इकागजसँग भने, ‘अनुशासन आयोगले यसमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिइसकेको छ । अब १ बजे बैठक बस्छ, यसमा के हुन्छ, त्यसपछि मात्र थाहा हुन्छ ।’

उनले अगाडि भने, ‘कारबाहीको टुंगो केन्द्रीय कमिटीले गर्ने भएकाले यसको छलफल सचिवालयमा मात्र किन गर्ने भनेर आजको बैठकको मुल अजेण्डा नबनेको हो । यो प्रक्रियामै छ ।’

एमालेका सचिव विष्टले पनि कारबाहीको विषयको अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने भएकाले सोमबारको सचिवालय बैठकको मुख्य नबनेको बताए । ‘त्यो विषय केन्द्रीय कमिटीलाई लेखेको हो । यसबारे आजको बैठकमा छलफल हुन पनि सक्छ वा पछि स्थायी समिति वा केन्द्रीय कमिटीमा पनि छलफल हुन सक्छ’ विष्टले भने । 

भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय ब्यहोरेको बताउँदै आएका छन् । ओलीको आलोचना गरेकै कारण आफूलाई कारबाहीको सिफारिस हुनु ठीक नभएको पनि उनले बताउँदै आएका छन् । 

केही दिनअघि इकागजसँगको कुराकानीमा उनले नमिल्ने कारबाही गरिए आफूले उठाउँदै आएको विषय प्रमाणित हुने तर्क गरेका थिए, पहिलो कुरो कारबाही गर्ने भन्‍ने कुरो अनौपचारिक रूपमा सुनेको मात्रै छु । औपचारिक रूपमा कसैले भनेको छैन,’ उनले भने, दोस्रो कुरा कारबाही गर्न मिल्दैन । नमिल्ने कारबाही यदि उहाँहरूले गर्नुभयो भने मैले भनेकै कुरा प्रमाणित हुन्छ । पार्टी विधिमा चलेको छैन र पार्टीमा समस्या छ ।’

र, यो पनि


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x