दल

नवनिर्वाचित जनप्रतिनिधिलाई ओलीले भने– पाँच वर्षमा जता फर्किए पनि विकास देखेर तपाईंहरूको हाईहाई होस्

इकागज |
असार २, २०७९ बिहीबार १३:२९ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई पाँच वर्षमा जता फर्किए पनि विकास देखिने गरि काम गर्न सुझाव दिएका छन् । उनले बिहीबार एमाले स्कूल विभागले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिएका हुन् ।

‘विभिन्न क्षेत्रमा तपाईंहरूले विकास देखाइरहनु नपरोस्, जता फर्किए पनि विकास देख्‍ने स्थिति बनोस्,’ ओलीले भने, ‘ताकी तपाईंहरू ५ वर्षमा अत्यन्तै सक्षम अनुभवी जनप्रतिनिधिको रुपमा स्थापित हुन सक्नुहोस् ।’


उनले नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिँदै पाँच वर्षमा नाम हाईहाई हुने गरि काम गर्न सुझाए । ‘तपाईहरूले कार्यकाल प्रारम्भ गर्दै हुनुहुन्छ,’ उनले भने, ‘५ वर्ष जनप्रतिनिधिको हिसाबले आ–आफ्ना स्थानीय तहमा काम गर्नुपर्ने छ । मेरो इच्छा छ कि तपाईंहरूले पाँच वर्षको कार्यकाल पुरा गर्दा तपाईंहरूको नाम हाईहाई होस् । तपाईंहरूले आलोचना सुन्नु नपरोस् । प्रशंसा सुन्ने अवस्था बनोस् ।’

 स्थानीय प्रशासन कसरी सञ्चालन गर्नुपर्छ भन्ने नमुनाको रुपमो आफूलाई प्रस्तुत गर्न सुझाव दिए ।  

‘विकासका कामलाई कसरी अगाडि बढाउनुपर्छ भिजनसहित, योजना सहित र विकासका निम्ति साझा प्रयासहरू कसरी परिचालित गर्नुपर्छ भन्ने कुरामा तपाईंहरू दृष्टान्त हुन सक्नुहोस्,’ उनले भने, ‘तपाईंहरू जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू प्राप्त गराउनुहोस् । तपाईंहरू जनताको सेवामा सदा तत्पर रहन सक्नुहोस् । तपाईंहरूको कार्यकालमा तपाईंका पालिकाहरूमा देखिने गरि विकास क्षेत्रमा अगाडि बढून् । कहाँ विकास भयो भन्ने स्थितिमा होइन । यस क्षेत्रमा यहाँ विकास भयो, शिक्षामा यहाँ, स्वास्थ्यमा यहाँ, भौतिक पूर्वाधारको विकासमा यहाँ,  विकास भयो भन्ने स्थिति बनोस् ।'  


Author

थप समाचार
x