दल

एमालेको विरोधपछि एसपीपी सैन्य सम्झौताबाट सरकार पछि हटेको ओलीको जिकिर

इकागज |
असार ३, २०७९ शुक्रबार १६:३० बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा नेपाल सहभागी हुनुहुँदैन भनेर आफूहरुले विरोध गरेपछि सरकार यसबाट पछाडि हटेको जिकिर गरेका छन् । 

शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रशिक्षण तथा अभिमुखीकरण दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आफूहरुले एसपीपीको विरोध नगरेका भए सरकारले हस्ताक्षर गर्ने बताएका हुन् । 


‘अमेरिकी सेना नेपालमा ल्याउन भनेर ड्राफ्ट गरेर हस्ताक्षर गर्न मात्र बाँकी अवस्था रहेछ । त्यो हामीले थाहा पाएपछि विरोध सुरु गर्यौँ, त्यसपछि बाहिर विरोध सुरु भयो । यसरी विस्तारै सबैतिर हल्लाखल्ला सुरु भएर एक्सपोज भएपछि प्रधानमन्त्रीले म हस्ताक्षर गर्दिनँ भन्नुभयो भनेर अहिले प्रचण्ड र माधव कुमार भनिरहेका छन्,’ उनले अगाडि भने, ‘कुनै मिलेटरी अलाइन्समा नेपाल नजाने भनेर परराष्ट्रमन्त्री पनि बोल्न थालेका छन् ।’

ओलीले एसपीपी ड्राफ्ट हुने अवस्थासम्म कसरी पुग्यो भनेर शंका व्यक्त गरे । ‘यो ड्राफ्ट के हो र सम्झौता कसले गर्यो भन्ने सन्दर्भमा उहाँहरु चुपचाप हुनुहुन्छ,’ उनले भने । 

उनले आफू सरकारमा भएका बेला एसपीपीमा सहभागी नहुने भनेर टुंगो लगाइसकेको पनि बताए । उहिल्यै टुंगिसकेको विषयमा फेरि सम्झौताको प्रयास हुनु गम्भीर विषय भएको उनकाे भनाइ छ । 

उनले आफ्नो नेतृत्वको सरकारले अमेरिकी सेनाबाट भूकम्पपछिको उद्धार कार्यमा मात्र सहयोग मागेको पनि बताए । 


Author

थप समाचार
x