दल

११ बुँदामा माधव-योगेशको सम्बन्ध

इकागज |
असार १३, २०७९ सोमबार ८:५९ बजे

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्धबारे खुलाएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले नेपालसँगको सम्बन्धमा कहिले समर्थन र कहिले विरोध गर्ने गरेको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले तल्लोस्तरमा झरेर बोलेपछि आफूले जवाफ फर्काएको भट्टराईले बताएका छन् ।


योगेश भट्टराईले लेखेको जस्ताको त्यस्तै
कमरेड माधव नेपाल र म ! 
कमरेड माधव नेपालले हामीमाथि पटक-पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँकै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरूको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुनेगरी म भन्न चाहन्छु- 'कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्‍नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !'

कमरेड माधव नेपाल र मेरो सम्बन्धबारेमा केही कुरा 
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  
२. उहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाव रहेका छन् र यो जारी रहने छ ।  
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवाका पक्षमा खुल्नु भएको हो । हामी शुरुदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौँ । 
४. छैठौँ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन । 
५. सातौँ महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।  
६. आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौँ ।  
७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  
८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ ।  
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्‍ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।  
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ, राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र बिषय वस्तुलाई बुझ्‍ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।  

पुनश्च: कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होइन । २०७९ असार १३ गते बिहान काठमाडौँ-धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।
 


Author

थप समाचार
x