दल

जसपा विवाद : बाबुराम भट्टराई पक्षका दुई जना मन्त्रीमा सिफारिस, उपेन्द्र यादव पुन: बलियो

इकागज |
असार २०, २०७९ सोमबार १०:१५ बजे

काठमाडौं - पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलियो बनेका छन् । विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्राीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो बन्ने देखिएका हुन् । 

‘इस्तियाक राई, प्रदीप यादव मन्त्रिमण्डलमा पर्नुभयो, महेन्द्र (महेन्द्रराय यादव)जी पनि उपेन्द्रतिर नै आउनुभएको छ, अब बाबुरामजीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले भने, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनुभएको छ ।’ उनका अनुसार मन्त्रिमण्डलमा सिफारिस भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।


पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ‘तीन सदस्यीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रूपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रूपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरीत मन्त्रिमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो । 

आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरू राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फयाक्टर’लाई कमजोर बनाएका छन् । अब भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्रै बाँकी रहेका जसपा नेपालका एक नेताले बताए ।

उनका अनुसार असार २७–२८ गते वीरगञ्जमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सम्भवतः भट्टराई उपस्थित हुने छैनन् किनभने ‘सहमतिको आधारमा अलग हुने’ जानकारी अध्यक्ष यादवलाई गराई सकेकाले पनि सो बैठकमा उनी अनुपस्थित हुन सक्नेछन् । भट्टराई अनुपस्थित भएमा यादवले वीरगञ्ज बैठकबाट आफू अनुकूलका निर्णय गरेर अघि बढ्न पाउने छन् ।
 


Author

थप समाचार
x