दल

गठबन्धनबारे कांग्रेस सभापति र उपसभापति

कुर्सीको समस्या सामान्य : देउवा, साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्‍न : गुरुङ

इकागज |
असार २१, २०७९ मंगलबार १२:४३ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोईरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका हुन् । 

एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरूलाई सामान्य रूपमा लिन आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । 


‘धनराज (गुरुङ)जीहरूले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा कुर्सीको त समस्या हुन्छ नै,' उनले भने, 'यसलाई समान्य रूपमा लिनुपर्छ । तपाईहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’

सोही कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धन सफलतापूर्वक अवतरण गर्न नसके दुर्घटनातर्फ जाने दाबी गरे । गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने उनले बताए । आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्नुपर्ने उनको भनाइ थियो । उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बिच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप-प्रत्यारोप गर्नु नहुने बताए । 

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकासमा छ । तर ल्यान्डिङ भएको छैन,' उनले भने, 'अब हामीले त्यो जहाजलाई ल्याण्डिङ' कसरी गर्ने ? भनेर चिन्तन् र चिन्ता गरिरहेको बेलामा जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई 'सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । प्यारासुटबाट जम्प गर्दा खुट्टा भाँचिन्छ कि भन्ने त्रास छ । आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन । जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप-प्रत्यारोप लगाउनु हुँदैन ।'


Author

थप समाचार
x