दल

काँग्रेस पदाधिकारी बैठक : निर्वाचनसम्बन्धी विधेयकबारे छलफल

इकागज |
असार २१, २०७९ मंगलबार १८:१९ बजे

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरू गरेको छ । 

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरू गरिएको पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।


बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरूपता ल्याउने विषयमा के भइराखेको छ भन्‍ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्‍ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रीय सदस्य विश्वकर्माले बताए ।

नेपाली काँग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।


Author

थप समाचार
x