दल

माओवादीमा महासचिव छान्‍न माथापच्ची, उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म'

पुन र शर्मा दुवैले दाबेदारी नछोडेपछि 'तेस्रो विकल्प'को खोजी

इकागज |
असार २३, २०७९ बिहीबार ११:५४ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का भएता पनि महासचिवलगायत अन्य पदाधिकारी चयनको विषय नेकपा माओवादी केन्द्रमा सकसपूर्ण बनेको छ ।

मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय सकसपूर्ण भएको हो । जसकारण गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।


मंगलवार र बुधबार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य विषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दावेदारी कायम राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन् । ‘आज पनि पदाधिकारी टुंगो लगाउने विषयमा केन्द्रीय समिति बैठक अघि आन्तरिक गृहकार्य गर्दछौं, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पूर्व कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।

खुमलटारस्थित प्रचण्ड निवासमा पूर्व पदाधिकारी र पूर्व स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ । सो बैठकमा दुवै नेताबीच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिएको छ ।

उपाध्यक्षमा श्रेष्ठ ‘कन्फर्म’ भए झै गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सूचीमा रहेका छन् भने मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफ्नो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ ।

उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणि पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरूले बताएका छन् भने कोषाध्यक्षमा गजुरेलले दोहरिन सक्ने छन् ।

माओवादी विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि आवाश्यक्ताअनुसार थप गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यदपि, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रीय समितिको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठकबाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन् ।

महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ । बैठक अपरान्ह १ बजे बस्दैछ ।


Author

थप समाचार
x