दल

माओवादी केन्द्रकाे उपाध्यक्षमा श्रेष्ठ र महरा

इकागज |
असार २३, २०७९ बिहिवार १८:५० बजे

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको छ । 

बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए । उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए । उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे ।


त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्‍ने बताए । नेता पोखरेलले केन्द्रिय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको उल्लेख गरे ।

नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वाभाविक रहेको जिकिर गरे । 


Author

थप समाचार
x