दल

नेपालले चाँडै हिन्दु राष्ट्रको मान्यता पाउँछः थापा

इकागज |
असार २६, २०७९ आइतवार १६:५६ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालले चाँडै हिन्दु राष्ट्रको पहिचान पाउने बताएका छन् । काठमाडौँमा 'राष्ट्रव्यापी सनातन धर्म सम्मेलन' को दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको कार्यक्रममा उनले हिन्दु राष्ट्र छिट्टै पुनःस्थापना हुने बताएका हुन् ।

विदेशी शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको उनको भनाइ छ । नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनलाई उनले आग्रह गरे । धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुनुपर्नेमा थापाको जोड थियो ।


कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे । कार्यक्रममा सम्मानित विशिष्ठ अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरूको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए ।

बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिनिधिका रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवाहरू सहभागी छन् । कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोम प्रसाद खतिवडा , संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए । कार्यक्रम भोलि (सोमबार)सम्म जारी रहनेछ ।


Author

थप समाचार
x