दल

संसद्‍मा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दोः वामदेव गौतम

इकागज |
असार २८, २०७९ मंगलबार १२:५० बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए । 

पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिब ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको उनको भनाइ छ । सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्षविनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे। 


उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधानविपरीत् भइरहेका गतिविधि सहन नसक्दे चेतावनी दिए । उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए । उनले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद् भएको बताए । 

राष्ट्रिय सभा सदस्य गौतमले  करिब ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । उनले सरकार र राजनीतिक दलहरूको लापरबाहीप्रति महिला सदस्यहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । 
 


Author

थप समाचार
x