दल

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छः केन्द्रीय सदस्य पराजुली

इकागज |
असार २९, २०७९ बुधबार २१:४७ बजे

फाइल फोटो

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले नेपालमा धर्म निरपेक्षता हटाएर हिन्दु धर्मलाई मुख्य एजेण्डा बनाउनु पर्ने बताएका छन् ।

उनले कांग्रेस समितिको जारी बैठकमा बुधबार लिखित सुझाव पेश गर्दै नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।


पार्टी सभापति शेर बहादुर देउवासहित नेताहरुलाई सम्बोधन गरेर लेखिएको सुझाव पत्रको दोस्रो बुँदामा पराजुलीले देशमा धार्मिक बहस उठिरहेको  र धर्म परिवर्तनलाई वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न प्रस्ताव राख्न चाहन्छु भनि उल्लेख गरेका छन् । उक्त एजेण्डाले मात्रै कांग्रेसको हित गर्ने र त्यसको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने केन्द्रीय सदस्य पराजुलीले बताए ।

उनले विद्यमान अवस्थामै प्रदेश सरकार चलिरहेको खण्डमा देशमा ठुलो बेथिति र जनतामा वितृष्णा, नैराश्यता बढ्दै जाने र चरम आर्थिक संकट निम्तिने तर्फ उनले जोड दिएका छन् । उनले कि प्रदेश सरकारलाई बलियो बनाउने कि हटाउने पर्ने भनेका छन् ।

पार्टी संस्थापन निकट पराजुलीले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा उपलब्धिमूलक देखिएको उल्लेख गरे । आगामी संघ र प्रदेश चुनावमा कांग्रेसभित्र आत्मीय एकता बनाउँदै गठबन्धनकै रणनीतिमा जानुपर्ने समेत उनले सुझाव दिए ।


Author

थप समाचार
x