दल

स्पष्टीकरण सोधेपछि राप्रपाका तीन नेताले भनेः पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भएकै हो ?

इकागज |
असार ३०, २०७९ बिहीबार १६:४२ बजे

काठमाडौँ-  राप्रपा कार्य सम्पादन समितिले गरेको निर्णयप्रति तीन सदस्यले आपत्ति जनाएका छन् । समितिको बिहीबार बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

समितिले २४ घण्टे समय दिएर स्पष्टीकरण सोधिएकामा तीन सदस्य दिलनाथ गिरी, दिलविक्रम राजभण्डारी र श्याम तिमल्सिनाले आपत्ति जनाएका हुन् ।स्पष्टीकरण सोधिएको जानकारी सामाजिक सञ्जालबाट थाहा पाएको उनीहरूले बताएका छन् । स्पष्टीकरण सोधिएकामा दुःखित भएको उनीहरूले बताएका छन् ।


तीन सदस्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,'  २४ घण्टे स्पष्टीकरण निषेध, पूर्वाग्रह र दूराशयबाट प्रेरित छ । पार्टी नेतृत्व अप्रजातान्त्रिक र सर्वसत्तावादी भएको छ । ' पार्टी नेतृत्त्व नसच्चिएर निरंकुश बनिरहेको उनीहरूले आरोप लगाएका छन् ।

नाङ्लो ठट्टाएर हात्ती तर्साउने खेल भएको उनले प्रस्ट पारेका छन् । सस्तो र तल्लो स्तरको खेल भएको तीन सदस्य टोलीले बताए । उनीहरूले पार्टीको हितमा काम गर्न चाहेको बताएका छन् । राष्‍ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा जुटिरहेको विज्ञप्तिमा लेखिएको छ ।

' के राप्रपा भित्र आन्तरिक प्रजातान्त्रिक अभ्यास बर्जित छ ? पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भएकै हो ?,' उनीहरूले प्रश्‍न गर्दै भनेका छन्,' नेतृत्त्वको चरित्र र व्यवहार निषेधको राजनीतिबाट प्रेरित हो । हामी पार्टीलाई फराकिलो बनाउनु पर्छ । ठूलो बनाउनुपर्छ । पार्टी भन्दा बाहिरका मानिसलाई समेट्नु पर्छ भन्दा पार्टीको अहित कसरी भयो ?'

 

 

 


Author

थप समाचार
x