दल

देउवालाई अर्जुननरसिंहको जवाफ - पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ

इकागज |
असार ३०, २०७९ बिहीबार १८:२७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाएका छन् । 

बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् । उनले नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताए । उनले आफूसँग महाधिवेशनमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताए । पदाधिकारीहरु बोलाएर गुटको भेला गरेको प्रश्नमा उनले पार्टी कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताए । यसअघि बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले होटलमा गुट फेला गरेको भन्दै आपत्ति जनाएका थिए ।


नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताए । उनले देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रुपमा नेपाल फसेको बताए । नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका विरुद्ध उत्रिएको काँग्रेसले अहिले पुनः सोही कार्य दोहो¥याएको बताए। 

उनले देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुप¥यो भन्दै प्रश्न गरे । उनले देशमा अहिले भ्रष्टाचारको महामरी रहेको दाबी गरे । 

उनले भने,  ‘पार्टी भित्रको आन्तरिक व्यवस्थापन हो पहिलो कुरा । सकेसम्म विधिसम्मत, प्रक्रियागत र सबैलाई समेटेर वृहत एकता अहिलेको ठूलो आवश्यक्ता हो । हामी पार्टीमात्र होइन, लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर हामी उन्मुख छौँ । देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको छ । एकातिर अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रमा बिस्तारै यो भूभाग विकसित हुँदैछ । चीन र अमेरिकाबीचको द्वन्द्वमा नेपाली भूभाग केन्द्रित भइरहेको छ । ओलीको अधिनायकवादको स्थितिमा पनि लोकतन्त्र पुनः स्थापित गर्न र संविधानको रक्षा गर्न फेरि नपाली काँग्रेसकै नेतृत्वमा सरकार गठन भयो । तर त्यो बेलामा हामीले ओलीले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर राखेकोमा हामीले बिरोध गरेका थियौँ । अहिले फेरि त्यही यथावत हामीले राख्नु औचित्य छैन । हामीले बिरोध गरेको संविधान परिषद् ऐनलाई फेरि किन परिवर्तन गरेको हो ? जे पहिला छ त्यसैलाई पुनः स्थापित गर्नुपर्छ नैतिक दृष्टिकोणले । विदेशी ऋणलाई अनुत्पादक क्षेत्रमा प्रयोग गरिरहेका छौँ । अहिले हामीले ८४ करोडको हतियार किन्ने कारण के छ ? कोसँग लड्नु छ ? देशमा अहिले भ्रष्टाचारको महामारी फैलिएको छ । अन्तर्राष्ट्रिय द्वन्द्वको पासोमा देश गएको छ । बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । पहिला त रामचन्द्र जीलाई थियो । सबैलाई सम्मान गरौँ । पदाधिकारीले गुट भेला गरेको भनियो । पहिला आफू हुँदा के गर्नुभएको थियो । अहिले पदाधिकारी ल्याएर बैठक बस्यो त के ठूलो कुरा भयो ? सबैलाई समेट्ने काम गर्नुहोस् गुटको भेला हुँदैन । अल्पमतलाई पनि समेटेर जानुपर्छ । सहमति, एकता, मेलमिलाप गर्ने भनेको आत्मसमर्पण गर्ने होइन, नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी आवश्यक छ ।’

नेता केसीले सहमति, एकता, मेलमिलाप गर्नु आत्मसमर्पण गर्ने नभएको उल्लेख गर्दै नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गर्न सभापति देउवाको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x