दल

देउवालाई निधिको सुझाव पार्टी भित्र गठबन्धन गर्नुस्

इकागज |
असार ३०, २०७९ बिहीबार १८:५२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन् । 

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । 


उनले आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए । नेता निधिले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए । 

उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । 

उनले भने, ‘आगामी संसद र प्रदेशको चुनाव पनि तपाईले गराउनु मेरो समर्थन छ भनेँ । गठबन्धन र चुनावी तालमेल फरक फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ । चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद् छ । अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्यो भन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरेँ । अब पहिलो पार्टी मात्रै होइन, बहुमतीय पार्टी बन्नुपर्छ भनेर आग्रह गरेँ । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली काँग्रेसका साथीहरुले नै जितेका छन्, उनीहरुलाई पनि समेटेर अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेको छ । यसलाई ध्यानमा राखेर एउटा विदेश नीति नेपाली काँग्रेसले दिशा लिनुपर्छ भन्ने आग्रह गरेँ । अर्थतन्त्रमा धेरै संकट आएको छ यसलाई पनि समाधान गर्न आग्रह गरेँ । अरु दलसँग त गठबन्धन गरेका छौँ तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, आवश्यक छ । नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान चुनावमा जित्न सहयोग गर्छ यसलाई तपाईको काम भएकोले आफूले काम गरेर लैजानुस् भनेँ ।’

नेता निधिले नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भुमिका खेल्नुपर्ने बताए । 


Author

थप समाचार
x