दल

जसपाका भट्टराईसहित नौ नेता पदमुक्त, अशोक राई संघीय परिषद् अध्यक्ष चयन

इकागज |
असार ३१, २०७९ शुक्रबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।

वीरगञ्जमा जारी दुई दिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधान विपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।


जसपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति सिद्धान्त तथा विधानविपरीतको कार्य गरेको आरोप लगाउँदै नेताहरु डा भट्टराई, महेन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यामी, भगतबहादुर साहसहित नौ जनालाई पदमुक्त गरिएको जानकारी दिए । 

उनले केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको संघीय परिषद् अध्यक्षमा चयन गरेको बताए । 

बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलीय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताए । दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनका लागि सङ्गठनका सबै तहमा तयारी गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

कारवाही गरिएका व्यक्तिले गल्ती स्वीकार गर्दै आत्मालोचना गरी आए पार्टीको ढोका खुला राखिएको अध्यक्ष यादवले बताए । 

पत्रकार सम्मेलनमा सहभागी रहेका राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिए । 

उनले पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्ने जस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाए । 


Author

थप समाचार
x