दल

ओली भन्‍छन्- मनमोहनबाट प्रेरित भएर गिरिजा कम्युनिस्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागे

इकागज |
साउन ७, २०७९ शनिवार १३:१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् ।

शनिबार  कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।


उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे । उनले  पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजने बताए ।

उनले भने, ‘आज देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति र सबभन्दा सबल शक्तिको रुपमा, सबभन्दा बलियो शक्तिको रुपमा पुष्पलाले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ । म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरूले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन । नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहा¥याएको छु ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरू फाँसीको सजाय सुनाइए पनि काँग्रेसले एउटा विज्ञप्तिमार्फत निकाल्न नसकेको बताए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरूको सम्मान गर्न नसकेको आरोप लगाए ।

‘काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ' उनले भने ।

'दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । उनले हानेका थिए थिएनन् आफ्नो ठाउँमा छ, हानेका थिए भने पनि परिवर्तनको लागि हानेका थिए । तर नेपाली काँग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन' उनले भने 'नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरू फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन । म आज कसैको आलोचना गर्न चाहन्न तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थिति पनि देखिए जहाँ,आफ्नै पार्टीका आदरणीय नेताहरूलाई विधिवत फैसला सुनाएर फाँसीको सजाय दिएर मारियो । त्यसको विरुद्ध एउटा वक्तव्यसमेत दिन सकेन । प्रतिक्रिया दिनसम्म सकेन । त्यो नेपाली काँग्रेसले गर्न नसकेको कुरा दुःख र शर्मनाक विषय हो ।’

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिस्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिस्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाबी गरे । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए । 


Author

थप समाचार
x