दल

माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर ढल्किए

इकागज |
साउन ९, २०७९ सोमबार १२:८ बजे

काठमाडौँ- नेकपा एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता झलनाथ खनाल भने सकारात्मक देखिएका छन् ।

संघीय संसद्‌को निर्वाचनमा पाँच दलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’ महसुस भएको भन्दै अध्यक्ष नेपाल माओवादी केन्द्रतिर र खनाल भने पूर्व पार्टी नेकपा एमालेप्रति सकारात्मक देखिएका हुन् । 


पछिल्लो समयमा वामपन्थी दलबीच सकेसम्म एकता, नभए चुनावी गठबन्धन गर्नुपर्ने विषयमा जोड गरिरहेका खनाल गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारप्रति लचक मात्रै भएनन्, मत नै दिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

‘झलनाथ कमरेडले इलामका अगुवा कार्यकर्तालाई मुखै फोरेर एमालेका राम्रा उम्मेदवारलाई मत दिन निर्देशन दिनु भएको थियो,’ इलामका तुल्सी बस्नेतले भने, ‘जसअनुसार नेकपा एस कमजोर रहेको स्थानमा गठबन्धनका उम्मेदवारलाई मत नहाली एमालेका उम्मेदवारलाई मत हालिएको थियो ।’ 

त्यसो त खनालले पछिल्लो समय कांग्रेसलाई बहुमत दिलाउन निरन्तर गठबन्धन गरेर जाने हो भने ‘वामपन्थी आन्दोलन धराप’ मा पर्ने बताएका छन् । नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन किन गठबन्धन गर्नुपर्ने हो ?’ भन्दै प्रश्न मात्रै गरेनन्, ‘वामपन्थीहरू कांग्रेसको पुच्छर बन्‍न किन जाने ?’ भन्‍ने अर्को प्रश्न पनि तेर्साएका छन् ।

कार्यक्रममा खनालले वामपन्थी दलहरूबीच एकता नभए चुनावी गठबन्धन गर्न संसद्‌को सबैभन्दा ठूलो दल एमालेले पहलकदमी लिनुपर्नेसमेत बताएका छन् । ‘संसद्‌को ठूलो दलका नाताले वामपन्थीहरूबीच एकता, नभए चुनावी मोर्चा बनाउन एमालेले पहलकदमी लिनुपर्छ,’ खनालले भने ।

स्रोतका अनुसार प्रतिनिधिसभा बैठकमा भेट हुँदा होस् वा टेलिफोन वार्तामार्फत खनाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समयमा सघन वार्ता भइरहेको छ । पूर्वएमालेहरूलाई एकै ठाउँमा ल्याउनुपर्नेमा ओली-खनाल सकारात्मक देखिए पनि अध्यक्ष नेपाल भने अझै सकारात्मक देखिएका छैनन् ।

अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ इच्छुक देखिएका छ्न् । गत साता सो विषयमा छलफलसमेत सुरु गरेका प्रचण्ड-नेपालले जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादवसहितलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ जोड गरिरहेका छन् ।

गत शनिबार जनकपुर विमानस्थलमा प्रचण्डले माधव नेपाललगायतसँग समाजवादी केन्द्र निर्माण गर्नेतर्फ गम्भीर कुराकानी भइरहेको र सो विषय चाँडै निचोडमा पुग्ने बताए । पूर्व पार्टी एमालेसँग मिल्नुभन्दा पनि प्रचण्डसँग नेपालको हिमचिम बढेर नै होला, खनालले सार्वजनिक रूपमा भन्दै आएका छन्- ‘वामपन्थी एकता अनिवार्य छ तर शीर्ष नेताहरू नै त्यसप्रति इच्छुक छैनन्, जसले समस्या देखा परिरहेको छ ।’ नेकपा एसका अधिकांश नेता एमालेसँग ‘मिल्नुपर्ने’मा जोड गरिरहेका बेला सो पार्टीको मूल नेतृत्व अर्थात् अध्यक्ष नेपाल ‘इच्छुक नभएपछि’ खनाल भने दोधारमा परेको नेताहरू बताउँछन् । 


Author

थप समाचार
x