दल

नेपाल रातभरको सेटिङ र मिटिङका आधारमा चल्छः रामहरि खतिवडा

इकागज |
साउन ९, २०७९ सोमबार १७:७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाललाई कला, संस्कृति र साहित्यको माध्यमबाट विश्वमा चिनाउनुपर्ने बताएका छन् । 

सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 


नेता खतिवडाले नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट नभइ कला, संस्कृति र साहित्यबाट भएको बताए । 

उनले अहिले नेपालमा रातभरको सेटिङ र मिटिङका आधारमा देश चल्ने भन्दै यस्तो प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए । नेता खतिवडाले अहिले एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्न लागि पर्नुको कारण विद्यालयमा तहमा सिकाइएका इतिहासको परिणाम भएको बताए । 

उनले विद्यालय तहमा राणाहरुले एकले अर्कोलाई सकेर आफू शक्तिमा गएको इतिहासहरु पढाइएको र त्यसबाट नराम्रो ज्ञानमात्रै लिँदा यो परिणाम देखिएको बताए । उनले इतिहासबाट राम्रा कुरा सिकेर अघि बढ्न आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘हामी अहिले पनि एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्नमा लागेका छौँ । हामीले राणाको इतिहास पढ्यौँ, कुनै इतिहास पढ्दा एउटाले अर्कोलाई नसकी कोही पनि शक्तिमा गएन । राम्रो काम गरेर होइन, अरुलाई सकेर । त्यो दिमागमा बसिरह्यो । अघि जाऔँ राम्रो गरेर भन्ने ज्ञान नराखि कसरी नराम्रो गरौँ र अघि बढौं भन्ने सोच आयो । नराम्रो र अरुलाई बदनाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भयो । त्यसको अन्त्य अब कला, संस्कृतको माध्यमबाट गर्नुपर्छ । वि.पि. कोइराला त्यत्तिकै वि.पि. कोइराला हुनुभएको होइन, उहाँमा सबै किसिमका ज्ञान थिए । कृष्णप्रसाद भट्टराईमा त्यस्तै ज्ञान थियो । अहिले त बेलुका एकछिन सँगै बसौँ न भन्ने बिहान सरुवा, बढुवामा जाऔँ न भनेर कहाँबाट मुलुकको विकास हुन्छ । नेपाललाई संस्कृति प्रिय, सुन्दर नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट होइन, कला र संस्कृतिबाट हो । यसलाई अघि बढाऔँ ।’

नेता खतिवडाले नराम्रो र अरुलाई बदनाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भइरहेको बताए । 


Author

थप समाचार
x