दल

नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छ : माधव नेपाल

इकागज |
साउन १९, २०७९ बिहिवार २१:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् । 

राजधानीमा आज आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्तावेज भएको बताए । 


पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गरे । उनका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो ।

उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए । पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने उल्लेख गर्दै अध्यक्ष नेपालले यो पुस्तकमा त्यस घटनाक्रमलाई स्पष्टरूपमा पढ्न सकिने पनि बताए । 

त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उनले सुनाए । उनले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गरे । मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गर्दै अध्यक्ष नेपालले पुस्तकको अर्को संस्करण निकाल्दा ती दस्तावेजलाई तिथिमितिसहित बुँदागतरूपमा राख्न लेखकलाई सुझाव दिए । 

तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए । उनले भने, `कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।`

फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताए । उनले भने, `चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईंहरुको बीचमा फेरि आउनुपर्छ ।`

उनले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्व कायमै रहेको पनि बताए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको पुस्तकले केलाउने प्रयास गरेको बताए । 
 
रासस


Author

थप समाचार
x