दल

निर्वाचनमा तालमेल गर्नेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको छलफल

इकागज |
साउन २२, २०७९ आइतवार १८:४३ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । 


“नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने । 

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक हुनुभएको नेता महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए । 

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो । निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।
 


Author

थप समाचार
x