दल

दुई दाहाल र खुलाल इच्छुक

मकवानपुर-१ : एमाले 'हेभिवेट खोज्दै, कार्यकर्ता भन्छन्- अब युवाको पालो

सरिता दाहाल |
साउन २५, २०७९ बुधबार १३:५५ बजे

मकवानपुर - नेकपा एमाले मकवानपुरले ४ मंसिरमा हुने चुनावमा 'हेभिवेट नेता' भन्दै पुरानालाई नै टिकट दिने सम्भावना बढेसँगै युवा नेताहरूको दौडधुप बढेको छ । एमालेले हेभीवेट उम्मेवदार छान्ने कसरत गरेपछि युवाहरूले दाबी गर्न थालेका हुन् । युवालाई प्राथमिकता दिनुपर्ने माग उठिरहेको बेला पार्टी भने गठबन्धनसँग जित्नुपर्ने भन्दै हेभिवेट नेताको पक्षमा रहेको देखिन्छ । 

जिल्लाको प्रतिनिधिसभा क्षेत्र १ मा एमालेको तर्फबाट तीन जनाले उम्मेदवारी दिने चर्चा सुरु भएको छ । वर्तमान सांसद कृष्णप्रसाद दाहाल, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र एमालेका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले उम्मेदवार बन्ने चर्चा सुरु भएको हो । 


सचिवालय सदस्य दाहाल स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरको लागि इच्छुक थिए । पार्टीले अनन्त पौडेललाई टिकट दिएपछि दाहाल ब्याक भएका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कृष्ण दाहाल, एमाले प्रदेश कमिटीका सदस्य खुलाल र मकवानपुरका चर्चित अधिवक्ता समेत रहेका मदन दाहालले प्रतिनिधि सभामा चुनावमा उम्मेदवारी रहने मनसाय बनाएपछि गठबन्धनमा पनि सोही अनुरुपको तयारी सुरु भएको छ ।

मकवानपुरमा प्रतिनिधि सभाको लागि दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेकोले पार्टीमा लामो समयदेखि काम गरिरहेका पाका नेताहरू र युवा पुस्ताहरू उत्तिकै जोसिएर लागेका छन् ।

नेकपा एमालेका तर्फबाट क्षेत्र १ मा पटक-पटक चुनाव जितेका कृष्ण दाहाल संघीय अर्थ समितिको सभापति समेत हुन् । उनी यो पटकको चुनावमा आफू विजयी हुने दाबीका साथ चुनावी मैदानमा उत्रिन लागेका हुन् । त्यस क्षेत्रको प्रत्येक वडा र टोल टोलसम्म पुगेका दाहाल गठबन्धनबाट जो चुनाव लड्न आए पनि आफूले जित्ने बताउँछन् ।

यसैगरी जिल्ला समन्वय समितिको प्रमुख भएर मकवानपुरको हेटौंडा र पूर्वी क्षेत्रमा समेत राम्रो काम गरेको अनुभवी खुलाल पार्टीले टिकट दिएमा प्रतिनिधि सभामानै चुनाव लड्ने तयारीमा छन् । पार्टीमा जिल्लाको नेतृत्व पनि गरिसकेको र जनताकै माझमा रहेर निरन्तर काम गरिरहेकाले फेरि पनि जनभावना अनुसार काम गर्ने तयारीका साथ चुनाव लड्ने बताउँछन् ।

यसैगरी एमालेका जिल्ला सचिवालय सदस्य समेत रहेका अधिवक्ता मदन दाहाल अहिले देशैभरी जस्तै मकवानपुरका नागरिकले पनि परिवर्तन चाहेको र युवा उम्मेदवारको माग बढेकाले उम्मेदवारी दिने तयारीमा छन् । आमनागरिकले परिवर्तन चाहने अनि पार्टीले उम्मेदवार सधैँ पुराना अनुहारलाई मात्र बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने उनको दबाब छ । 'अहिले आम नागरिकले युवा उम्मेदवारमा आशा र भरोसा राख्न थालेका छन्' दाहाल भन्छन्, 'पार्टीले विश्वास गरेर टिकट दिएमा चुनाव लड्न म तयार छु ।' दाहाल नेकपा एमाले मकवानपुरको सचिवालय सदस्यका रुपमा तेस्रो कार्यकालमा रहेर काम गर्दै छन् । 

यता जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा पनि हेभिवेट भन्दै बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलसहित पुरानै नेताको चर्चा रहेको छ । यो क्षेत्रमा एमालेबाट पाका नेता पौडेलसहित युवा नेता महेश बर्तौला, र रामेश्वर रानाको उम्मेदवारी रहने उनीहरू निकट स्रोतले जनाएको छ ।


Author

थप समाचार
x