दल

नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा छैनः भीम रावल

इकागज |
साउन २५, २०७९ बुधबार २१:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका नेता डा. भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा नरहेको उल्लेख गर्दै यो संविधान विपरीत भएको बताएका हुन् । 

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए । उनले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताए । 


उनले भने, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारत विरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनैपनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।’

नेता रावलले नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको बताए । उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए । नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताए । उनले सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाए । कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदा समेत सरकार मौन रहेको बताए । 

उनले चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्का अहिले चीन भ्रमणमा रहेको भन्दै नेपालसँगको सीमा विवादका बारेमा छलफल गरेर वास्तविकता जनतालाई जानकारी गराउनुपर्ने बताए 
।   

 


Author

थप समाचार
x