दल

संघीय निर्वाचन

उम्मेदवारीमै महिला सहभागिता सुनिश्चित गर्न माग

इकागज |
साउन २७, २०७९ शुक्रबार १३:५० बजे

काठमाडौँ - आगामी निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरूले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरूले आफ्नो भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । महिला नेतृहरूले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरूले महिलालाई अघि सारेर जानुपर्ने बताए । 


महिलालाई प्रत्यक्षतर्फ प्रतिस्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्ने उनीहरूको माग छ । उनीहरूले हरेक निर्वाचनमा क्रमशः महिलाहरूको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरूको लागि राजनीतिक दलहरूले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन् । 

दलहरूले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन सकेका छैनन् ​: पुष्पा भुसाल

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताइन् । उनले अझै पनि राजनीतिक दलहरूले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गरिन्। महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताइन् । उनले समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरू जान जरुरी रहेको बताइन् । 

अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने उनको भनाइ छ । दलभित्रका महिला नेतृत्वहरूले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भूमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि उनले बताइन् । 

उनले उम्मेदवारी दिने कुरा नभइ लिने कुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्ने बताइन् । उपसभामुख भुसालले महिलाले कुनै भयको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृत्वकै काँधमा रहेको बताइन् ।

उनले उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्न समय पर्याप्त रहेको बताइन् । उपसभामुख भुसालले महिलाले प्रतिस्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिस्पर्धा कोसँग गर्ने भन्ने कुरा दोस्रो भएकोले प्रतिस्पर्धामा उत्रिन आफ्नो भूमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

‘अहिले नयाँ संविधान आएपछि उम्मेदवारको प्रावधानलाई हटाएर ३३ प्रतिशत महिला सांसदको व्यवस्था गरेको छ । जसले गर्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ महिलाहरूले बढी अवसर प्राप्त गरेको देखियो,' उनले भनिन्, 'प्रत्यक्षमा उम्मेदवारी कम पाउने, पाए पनि विजयी हुने संख्या न्यून रहेकोले समानुपातिक निर्वाचन प्रणालीबाट ३३ प्रतिशत महिला सांसद पुर्याउनुपर्ने अवस्था छ । समानुपातिक निर्वाचन प्रणाली महिला नेतृत्वको लागि हो कि भन्ने नयाँ वहस प्रारम्भ पनि भयो । प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर बढी भन्दा बढी महिला निर्वाचित गरायौँ भनेमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्नसक्छ ।’

महिलाले म यो निर्वाचन क्षेत्रबाट निर्वाचन लड्नुपर्छ भनेर तयार हुनुपर्छ : विन्दा पाण्डे

नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरूले आफूले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरिन् । उनले अहिले हुने निर्वाचनमा कम्तीमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरूले गर्नुपर्ने बताइन् । संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने समानुपातिक संख्यामा महिलाहरूको पनि उम्मेदवारी दिनेकुरा सोच्नुपर्ने उनको भनाइ छ । 

उनले एक तिहाइ निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने बताइन् । अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाबाट काम गर्न सकिने उनले बताइन् । उनले प्रत्यक्ष निर्वाचनमा राजनीतिक दलहरूले महिलालाई उम्मेदवार नबनाउँदा सबै महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट लैजनुपरेको भन्दै यसले सीमान्तकृत, अल्पसंख्यक, निम्नवर्गका पुरुषलाई असर गरेको उनको भनाइ छ ।

‘अब संघीय र प्रादेशिक निर्वाचन हुँदैछ । त्यसका लागि मेरो पहिलो आह्वान १६५ निर्वाचन क्षेत्र संघीय तहमा छ, त्यसको डबल प्रदेशमा छ । हरेक निर्वाचन क्षेत्रमा सबै राजनीतिक दलका महिला साथीहरूले म यो निर्वाचन क्षेत्रबाट निर्वाचन लड्नुपर्छ भन्ने हिसाबबाट मानसिक र वैचारिक हिसावबाट तयार हुनुपर्छ,' उनले भनिन्, 'त्यसमा संघीय तहको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत म निर्वाचन लड्छु भन्ने मानसिकता बनाउनुस् भन्ने आग्रह गर्दछु । समानुपातिकमा सीमान्तकृत, अल्पसंख्यक, निम्नवर्गका पुरुष लैजानुपर्ने ठाउँ हो, त्यसले पुरुषहरूमाथि पनि अन्याय गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबाट पनि ५० प्रतिशत महिला र पुरुष जानुपर्छ, त्यहाँ जाने भनेको प्रत्यक्ष निर्वाचन लड्ने पहुँच नभएका वा विविध कारणले जान नसकेका त्यो समुदायको पुरुषहरूलाई पनि जाने ढोका खोल्न पनि पहिलो हुने निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी संविधानसम्मत दिनुपर्छ ।’

सबै दलले ५० प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ : उषाकुमारी राउत

नेपाली काँग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनै पनि राजनीतिक दलले ५० प्रतिशतलाई उम्मेदवारी बनाउनैपर्ने बताइन् । उनले शक्तिशाली नेताहरूसँग महिलालाई प्रतिस्पर्धामा उतार्नु नहुने बताइन् । समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भए पनि महिललाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरूले कदम चाल्नुपर्ने उनको भनाइ छ । उनले गठबन्धनको नाममा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने परिस्थित नदोहोर्‍याउन पनि आग्रह उनले आग्रह गरिन् । अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने बताइन् ।

‘५० प्रतिशत कुनै पनि राजनीतिक दलले महिलालाई उम्मेदवार बनाउनैपर्छ । तर 'ह्याभिवेट' नेतासँग सहज महिलाको नाममा दिनुहुँदैन । यसमा राजनीतिक दलका नेताहरू चनाखो हुनुपर्छ । नेतृत्वमा पुगेका महिलाहरूले यति प्रतिशत महिलालाई टिकट अनिवार्य व्यवस्था गर्नुपर्छ,' उनले भनिन्, 'त्यो ठाउँमा पुरुषको संख्या कम हुन्छ भने समानुपातिकमा पुरुषलाई ल्याउँ । गठबन्धन गर्दैगर्दा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने भन्ने परिस्थित नदोहोरियोस् । अबको दिनमा महिला कतैपनि असक्षम छैनन् । चुनाव लड्न पैसा चाहिन्छ, तिमी असक्षम छौ भन्ने सन्देश प्रवाश कुनैपनि राजनीतिक दलको केन्द्रबाट हुनुहुँदैन ।’

अध्यक्ष राउतले ५० प्रतिशत भन्दा बढी महिलाको जित सुनिश्चित गर्न पार्टीले भुमिका खेल्नुपर्ने बताइन् । उनले महिला निर्वाचनबाट चुनिएर नेतृत्वमा जाँदा देशमा सुशासन कायम हुने बताइन् ।


Author

थप समाचार
x