दल

`प्रचण्ड र माधवको स्वार्थले कम्युनिष्ट आन्दोलन विखण्डित`

इकागज |
साउन ३०, २०७९ सोमबार १७:५९ बजे

मकवानपुर - नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डित भएको बताएका छन् । 

उनले मकवानपुरको बागमती गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी हावी देखिएको बताए । नेकपा एमाले बागमती गाउँपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले स्थानीय निर्वाचनमा नेकपा एमालेको सिट संख्यामा कमी आएता पनि  जनमतमा पहिलो पार्टी भएकोले दाबी गरे । 


“हामी जनमतमा पहिलो पार्टी नै हौ” रिजालले भने । संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलो पार्टी हुने उनले दाबी गरे । उनले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगेर पनि मुलुक बर्बाद भएको भन्दै नेकपा एमालेका नेताहरू मनमोहन र केपी ओली सरकारको ९÷९ महिना सरकारको सफलतालाई स्मरण गर्न आग्रह गरे ।

नेपाली काँग्रेससँग एक्लै निर्वाचन लड्ने सामर्थ्य नभएको र साहारा खोज्दै हिँडेकोले एमालेको कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने उनले बताए।

कम्युनिष्टहरू आफैमा अनुशासित हुने भएकोले अध्ययनशीलता, ग्रहणशीलता, प्रयोगशीलता र सृजनशीलता हुनुपर्ने बताउँदै सधै अग्रगमन र परिवर्तनकारी हुने उनले बताए। केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टी माथि चौतर्फी प्रहार भईरहेको बेला हरेक कार्यकर्ताले जिम्मेवारबोधका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए । 

“क्रान्ति सम्पन्न भयो तर जनताको अवस्था फेरिएन”, उनले भने “अबको कार्यभार समाजवादको आधार निर्माण गर्नुपर्ने छ ।”

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद कृष्णप्रसाद दाहालले मुलुकको आर्थिक जर्जरतालाई अन्त्य गरी विकास, समृद्धि र संघीयतालाई सुदृढ गर्नको लागि एमालेले आगामी निर्वाचनमा जित्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा प्रदेश कमिटी सदस्य अणराज जर्गामगर, पद्मा पौडेल, दिलबहादुर घिसिङ्ग, छिरिङ्ग दोर्जे पाख्रिन, नारायण सापकोटा, खेमराज जर्गा मगर, शर्मिला विक, मदनकुमार दाहाल, जिल्ला कमिटी सदस्य राजकुमार तिमल्सिना,कमल राई, सरिता विक, मदनकुमार दुरूङ्गच्याङ्ग, बकैया गाउँपालिका अध्यक्ष गोपाल दाहाल र पालिका कमिटीका अध्यक्ष चन्द्रबहादुर राईसहभागी थिए । 

प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू गरि १ सय २५ जनाको सहभागिता भएको पालिका सचिव मनोज नेगीले बताए ।
 


Author

थप समाचार
x