दल

कांग्रेस निकट ट्रेड युनियनको अध्यक्षमा दर्जनौंको दाबी

इकागज |
साउन ३१, २०७९ मगलवार १४:५५ बजे

काठमाडौँ - कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन नजिकिएसँगै दर्जनौंले अध्यक्ष पदमा दाबी गरेका छन् । विधानत गत जेठमै सम्पन्न हुनुपर्ने महाधिवेशन कोभिड महामारी असरको कारण आगामी फागुनमा हुने भएपछि अध्यक्षका आकांक्षी ह्वात्तै बढेका छन् ।

नेपाली कांग्रेसको अन्य भातृ एवं शुभेच्छुक संस्थाहरु मध्ये ट्रेड युनियन सबैभन्दा ठूलो, महत्वपूर्ण र विधान सम्बत सांगठनिक क्रियाकलाप एवं समयमै महाधिवेशन सम्पन्न गर्ने एकमात्र संस्था हो । 


राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा युनियनको महत्त्व र नेविसंघ , तरुण दल, महिला संघमा जस्तो पार्टी केन्द्रबाट सिधै विघटन र टीका लगाउन नसक्ने एवं विधान बमोजिम पुर्ण प्रजातान्त्रिक ढंगले चल्ने भएको कारण पनि अध्यक्षका आकांक्षीहरु बढेको हुन सक्ने निकट स्रोतले बताए ।  

अध्यक्षमा क कसको दाबी ?

ट्रेड युनियन कांग्रेसका वर्तमान अध्यक्ष पुष्कर आचार्यले अध्यक्षमा उठ्ने  घोषणा नगरे तापनि पछिल्लो समय गरेको तीव्र राजनीतिक गतिविधिका कारण पुनः अध्यक्षमा दाबी रहेको बुझ्न सकिन्छ । दोस्रो तहका नेताहरू एक आपसमा कसैले कसैलाई अध्यक्ष स्वीकार गर्न नसक्ने देखिएपछि आचार्यले एकपटक अध्यक्षमा दोहोर्‍याउने निकटस्थ स्रोतको भनाई छ । निवर्तमान अध्यक्ष खिलानाथ दाहालले अध्यक्षमा उठ्ने दाबी नगरे पनि जिल्लाहरुमा सम्पर्क बढाइरहेको बुझिएको छ ।

यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले यस पटक कुनै हालतमा अध्यक्ष उठ्ने बताएका छन् । पुर्व उपाध्यक्ष गणेश निरौला , अयोध्या प्रसाद यादव , वर्तमान उपाध्यक्षहरु तेजेन्द्र जंग कार्की , अजय कुमार राईले पनि युनियनको अध्यक्षमा दाबी गरेका छन्  ।  

यसैगरी पूर्व महासचिव अच्युतराज पाण्डे , वर्तमान महासचिव योगेन्द्र कुँवर, पूर्व उपाध्यक्ष बम बहादुर डिसि , पुर्व कोषाध्यक्ष ध्रुवचन्द्र गौतम लगायतले अध्यक्षमा दाबी गरेका छन् भने नेपाल छापाखाना सम्बद्ध श्रमिक संघका महासचिव सुर्य नेपालले  वर्तमान अध्यक्ष आचार्य बाहेक अरुलाई नछाड्ने बरु आफै अध्यक्षमा उठ्ने बताएका छन्  । 

आचार्य, यादव, निरौला, कार्की, राई, कुँवर, पाण्डे, नेपाल  शेखर कोईराला समूहका हुन् भने दाहाल निधि, अयोध्या यादव , गौतम  र डिसि देउवा निकट मानिन्छ । ट्रेड युनियन कांग्रेससँग विभिन्न २७ वटा पेशागत संघहरु आबद्धता रहेका छन् ।


Author

थप समाचार
x