दल

हारमा 'ह्याट्रिक' गरेका ‘नाति जर्नेल’ले यसपालि चुनाव जित्लान् ?

किशोर बुढाथोकी |
भदौ १५, २०७९ बुधवार १०:५ बजे

काठमाडौँ - पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणा आउँदो मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बन्छन् या बन्दैनन् सिन्धुपाल्चोकबासीबीच चर्चाको विषय बनेको छ । राप्रपाले राणालाई पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेसँगै उनको चर्चा फेरि चुलिन थालेको हो । अघिल्लो चुनावमा उनले आफू अन्तिमपटक चुनावी मैदानमा होमिएको बताएका थिए ।

राणा उम्मेदवार हुने क्षेत्र सिन्धुपाल्चोकका प्रतिनिधिसभाको क्षेत्र नं. २ हो । यो क्षेत्रमा मात्रै नभई सिंगो सिन्धुपाल्चोकमा राणाको राम्रो छवि छ । झनै क्षेत्र नं. २ मा राप्रपा बलियो छ । त्यसैले पनि पशुपति आफै चुनावी मैदानमा उत्रिँदा विपक्षीका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ ।


२०३८ सालदेखि अहिलेसम्मका सबै चुनावमा उनी उम्मेदवार बनेका छन् । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारको ‘ह्याट्रिक’ गरे ।

जन्मँदै नाति जर्नेलको पदवी पाएका उनले यो चुनावमा उम्मेदवार भएर पराजित भए भने उनको राजनीतिक भविष्य लगभग सकिन्छ । समीकरणअनुसार यो पटक पनि हार जोगाउन उनलाई निकै चुनौती छ ।

जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङले राणालाई हराए । उनलाई बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले हराएका थिए । पछिल्लो चुनावमा कांग्रेसको साथ पाएर पनि राणा चुके ।

क्षेत्रबाट १ नम्बरमा सिफारिसमा परेका राणा उम्मेदवार बनेको खण्डमा एमालेका उनै तामाङ प्रमुख प्रतिस्पर्धी बन्न सक्छन् । यदि राप्रपासँग एमालेको तालमेल नभएको खण्डमा । राप्रपा र एमालेबीच तालमेल हुने सम्भावना पनि उत्तिकै छ । दुई दलबीच 'सकारात्मक छलफल' चलिरहेको छ । 

उता सत्ता गठबन्धन सिन्धुपाल्चोकमा लागू भयो भने माओवादी या कांग्रेसका उम्मेदवार चुनावी मैदानमा आउनेछन् । यो क्षेत्रमा कांग्रेसले दाबी गरिरहेको छ ।

कांग्रेसका पूर्वजिल्ला सभापति विकास लामाले सार्वजनिक रुपमै गठबन्धन भए प्रतिनिधि सभा कांग्रेसले नपाए ‘लौरो’ उठ्ने चेतावनी दिइसकेका छन् । उता प्रतिनिधि सभा क्षेत्र नं. १ मा पनि कांग्रेसले नपाए केन्द्रीय सदस्य मोहन बस्नेतले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

यी घटनाक्रमले सिन्धुपाल्चोकमा गठबन्धन टुट्न सक्ने पनि देखिन्छ । त्यसैले पनि एमालेका तामाङ नै फेरि राणाका मुख्य प्रतिस्पर्धी हुन सक्ने आँकलन गर्न सकिन्छ । यसो भयो भने राणाको भेट तामाङसँग चौथोंपटक हुनेछ ।

२०५६ को चुनावमा तामाङ नेकपा मालेको तर्फबाट उम्मेदवार बनेका थिए । जिल्लाको यो क्षेत्र तामाङ जातिको बाहुल्य भएकाले पनि राणालाई जित्न थप मुस्किल पर्न सक्छ । शेरबहादुर उम्मेदवार भए तामाङ समुदायबाट ‘सेन्टिमेट’ भोट आउने राजनीतिक विष्लेषकहरूको ठम्माइ छ ।

यो क्षेत्रमा अन्य साना दलबाहेक शेरबहादुर र राणा नै लोकप्रिय नेता हुन् । माओवादीबाट युवराज दुलाल उम्मेदवार हुन सक्छन् भने कांग्रेसबाट वंशलाल तामाङ, विकास लामा चर्चामा छन् । कांग्रेसले राजेन्द्र गोर्खालीलाई अगाडि सार्न सक्ने संकेत पनि देखाएको छ । माओवादीबाट सम्भावित उम्मेदवार दुलाल प्रचण्डनिकट मानिन्छन् । उनी गएको चुनावमा प्रदेश सांसदमा विजयी बनेका थिए । जिल्लामा विकास भित्र्याउने नेताका रुपमा चिनिने दुलाल वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत भए ।

केन्द्रीय हाइट बनाएका राणा र तामाङ ‘हेभिवेट’ हुन् । उता वाग्मती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दुलाल पनि छन् । कांग्रेस पनि बलियो प्रतिस्पर्धी हो । कांग्रेसबाट चर्चामा रहेका लामा पूर्वसभापति हुन् । उनी कांग्रेस महाधिवेशनमा सहमहामन्त्री उठेका थिए ।

वंशलाल इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । उनको यो क्षेत्रमा राम्रो पकड छ । यी सबै सम्भावित उम्मेदवार र मतदाताले पनि राणालाई सकस पर्ने देखिन्छ ।

पहिले तीन वटा क्षेत्र भएको सिन्धुपाल्चोकमा अहिले दुई क्षेत्र छ । अहिले पुरानो क्षेत्रमा केही गाउँ थपिएको छ । हालको इन्द्रावती गाउँपालिका र चौतारासाँगाचोकगढी नगरपालिकाको ५ वटा वडा प्रतिनिधि सभा नं. २ मा गाभिएको छ । पछि गाभिएका गाउँमध्ये अधिकांश राणाको भोट बैंक पनि हो । पुरानो क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा भोट ल्याए भने राणाले मत परिणाममा अरुलाई पछि पार्न सक्ने आंकलन पनि जिल्लाका नेता कार्यकर्ताको छ ।

मंसिर ४ मा हुने निर्वाचनमा राणा पराजित भएमा उनको राजनीतिक भविष्य लगभग अन्त्य नै हुने सम्भावना पनि छ । अबको निर्वाचन परिणाम राणाको पोल्टामा नपरे उनको राजनीतिक भविष्य संकटमा पर्ने देखिन्छ ।

राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८ को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउ“दै सांसदमा निर्वाचित भएका थिए । ०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका सबै निर्वाचनमा उनले हार व्यहोरे ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राप्रपा र कांग्रेसबीच तालमेल भएको थियो । बाम गठबन्धनबाट उठेका शेरबहादुरले पशुपतिलाई हराए । तामाङले ३८ हजार ४ सय १ मत ल्याएर विजयी हुँदा राणा३० हजार ३ सय ६९ मत मै खुम्चिए । कुलमध्ये तामाङले ५३.४६ प्रतिशत मत प्राप्त गर्दा राणाको भागमा ४२.२८ प्रतिशत हुन आएको थियो ।

सिन्धुपाल्चोकको यो क्षेत्रमा २०७४ मा १ लाख १२ हजार १ सय ९६ मतदातामा ७७ हजार ९ सय ३८ मत खसेको निर्वाचन कार्यालयको तथ्यांक छ ।


Author

थप समाचार
x