दल

सिट बाँडफाँटमा सकस

इकागज |
भदौ १७, २०७९ शुक्रबार ८:२६ बजे

काठमाडौँ- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरू 'सकस' मा परेका छन् । 

गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरूले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदल नै बनाएका छन् । 


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन । सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पुर्‍याउन सकेका छैनन् । चाँडै सिट बाँडफाँट टुंगोमा पुर्‍याएर चुनावमा होमिनु पर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ । 

बिहीबार बिहानदेखि राति १० बजेसम्म शीर्ष दलका नेताहरूले प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरे पनि सहमति जुट्न सकेको छैन् । 

नेपाली कांग्रेसले १०० सिटलाई बटमलाईन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको आ-आफ्नो दाबी सिट संख्यामा हुँदा कुरा मिल्न सकेको छैन । 

वैशाखमा सम्पन्न स्थानी तह चुनावमा प्राप्त मत र क्षत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ । 

बिहीबार दिनभर बसेको गठबन्धनको बैठकले दुई दिनभित्रमा सिट बाँडफाँट सक्ने सहमति जुटाएको छ ।  बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्नेभन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ । यसमा सबै दल सहमत रहेकाले दुई दिनमा टुंगोमा पुग्ने उनको दाबी छ । 

उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल भएको छ । 

तर, उनले भनेजस्तो सहज अवस्था भन गठबन्धनमा देखिएको छैन । दुई दिनको समयमा दलहरूले आन्तरिक छलफल गरेर टुंगोमा पुग्ने नेताहरूको दाबी छ । तर कांग्रेसका एक नेताका अनुसार दुई दिनभित्र टुंगो लाग्ने सम्भावना न्यून रहेको छ । 'कांग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो छ । यस हिसाबले कांग्रेसले धेरै छाडेर अरुलाई धेरै दिन सक्ने कुरा हुँदैन । फाइदा नहुने भए अरु पनि किन गर्ने भन्ने होलान्' उनले भने, 'त्यसले स्थानीय चुनाव जस्तै अन्तिम तिर टुंगो लाग्ने होला !'


Author

थप समाचार
x