दल

कार्यकर्तालाई ओलीको निर्देशन- गँड्यौला जस्तो होइन, सर्पजस्तो डस्‍न तयार हुनुस्

इकागज |
भदौ १८, २०७९ शनिबार ११:३५ बजे

विराटनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई गँड्यौलाजस्तो नबन्न निर्देशन दिएका छन् । शनिबार बिहान सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले  कार्यकर्ताहरूलाई गँड्यौलाजस्तो नभई सर्पले जस्तो डस्न तयार हुनुपर्ने बताए ।

ओलीले यो सन्दर्भ सुनसरीको क्षेत्र नम्बर ३ मा चुनाव लड्दै आएकी भगवति चौधरीको पराजयसँग जोडेरसमेत व्याख्या गरे । विजय कुमार गच्छदारसँग चुनाव लड्दै आएकी एमाले नेतृ चौधरी सत्ता र शक्तिको आडमा बाकस साटिने गरेका कारण पराजित हुने गरेको ओलीले बताए । 


आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि बाकस साट्ने र बुथ कब्जा गर्ने खालको गतिविधि हुनसक्ने भन्दै कार्यकर्ताहरू नै दुईटा दाँत भएको सर्पले जस्तो डस्न  जाइलाग्नुपर्ने ओलीले बताए । ‘नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, नेकपा एमाले गँड्यौलो जस्तो हुने होइन, मुखमा छोयो भने खुसुक्क पछाडि सर्ने होइन’ उनले भने, ‘दुईवटा दाँत भएको कहिले-कहिले डस्ने खालको हुनुपर्‍यो ।’ 

उनले आफ्नो मतको रक्षा गरी जनताको सार्वभौम अधिकारको सुनिश्चित गर्न कार्यकर्ताहरूलाई आग्रह गरे । निर्वाचनमा पैसाको खेलोमेलो र पदको प्रलोभनमा नपर्न समेत आग्रह गरे ।

ओलीले मंसिरको निर्वाचनमा देश, जनता, लोकतन्त्र र राष्ट्रियताले हार्न नहुने भन्दै त्यसका लागि बहुमत प्राप्त हुने गरी कार्यकर्ताहरू परिचालित हुनुपर्ने बताए । गठबन्धन सरकारले एक बर्षमै देशलाई कंगाल बनाउन लागिसकेको ओलीले आरोप लगाए । वर्तमान सरकारले आफ्नो पालामा सुरु भएका विकास निर्माणका आयोजनाहरु कटौति गरेर जनतालाई बेहाल बनाएको दाबी गरे ।

एमालेले नेपालको नक्सामा उल्लेखित भु–भागहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गराउन प्रक्रिया अघि बढाउन भारतसँग कुराकानी र पत्राचार गर्ने प्रतिवद्धता जनाए । उनले एमालेको बहुमतको सरकार बनेमा त्यसका लागि सार्थक प्रयास गर्ने उनले बताए ।


Author

थप समाचार
x