दल

घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सर्वसाधारणसँग माग्‍यो एमालेले सुझाव

इकागज |
भदौ १९, २०७९ आइतबार १३:३५ बजे

काठमाडौँ- नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझाव समेत दिइसकेको पनि जनाइएको छ । 


एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले गर्नुपर्ने कामको सुझाव दिन चाहे भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिन आह्वान गरिएको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत पनि सुझाव पठाउन सकिने छ ।


Author

थप समाचार
x