दल

सिंहदरबारकै कारण संघीयतामाथि प्रश्‍न उठ्ने गरेको छ : डोरमणि पौडेल

'सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको छ'

इकागज |
भदौ २०, २०७९ सोमवार १२:११ बजे

फाइल तस्बिर

काठमाडौँ - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । हेटौँडामा सोमबार भएको संघीयता सबलीकरणसम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।  

‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ,' उनले भने, 'हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहैको छ ।' 


संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको उनको गुनासो थियो । उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दाबी गरे । 'संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेका छैनन् । सरकारले कानुन बनाउँदैन । कानुन नबनाई काम गर्न पाउँदैनौँ,' उनले भने, 'प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनायो भने पनि संघीय सरकारले नबनाईकन लागू पनि हुँदैन। संघीय सरकारले बनाएको कानुनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहैको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’

उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । संघीयता आउनेवित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे । 

‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ,' उनले भने । 

उनले संघीय प्रणाली आफैँमा नकारात्मक नभए पनि केही वुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगालगाए ।


Author

थप समाचार
x