दल

सिन्धुपाल्चोक- १ : बस्‍नेतको दम्भमा सापकोटाले लगाउलान् ब्रेक ?

यस्‍तो छ २०४८ सालदेखि २०७९ सम्‍मको मतान्तर

किशोर बुढाथोकी |
भदौ २०, २०७९ सोमबार १४:३२ बजे

काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै सिन्धुपाल्चोक क्षेत्र नं. १ चर्चामा छ । क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको क्षेत्र एउटै भएकाले को उम्मेदवार हुन्छ भन्ने चर्चाको विषय बनेको छ । 

चुनावका लागि माओवादी केन्द्रले सापकोटा र कांग्रेसले बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बस्नेतको नाम एकल सिफारिस गरिएको छ भने माओवादीले सापकोटासँगै तीन जनालाई सिफारिस गरेको छ ।


बस्नेतले कांग्रेस केन्द्रीय समिति बैठकमै भनेका थिए, ‘म गठबन्धनको विरोधमा छैन, तर मेरो क्षेत्रमा मैले टिकट नपाए विद्रोह हुन्छ ।’

केन्द्रमा गठबन्धन दलहरूबीच पहिले जितेको ठाउँमा सम्बन्धित पार्टीले भाग पाउने एक खाले सहमति भएको थियो । गत निर्वाचनमा सिन्धुपाल्चोक–१ मा माओवादीबाट सापकोटाले उनै बस्नेतलाई हराएका थिए । वामगठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा कांग्रेसका बस्नेत २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । 

२०७४ को चुनावमा यो क्षेत्रमा एक लाख १४ हजार तीन सय ४४ मतदाता थिए । ७८ हजार ६ सय  ९६ मत खस्दा सापकोटाले ५५.३० प्रतिशत मत ल्याउँदा बस्नेतको नाममा ४०.६८ प्रतिशत मत रह्यो । यी दुई सँगै यो क्षेत्रमा १३ जना चुनावी मैदानमा होमिएका थिए ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको मत ४४ हजार ७६ थियो भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ थियो । तर, मत परिणाममा भने सापकोटाले चार हजार मत घटाउँदा मत बस्नेतले बढाएका थिए ।

यो क्षेत्रमा कसरी मिलाउने भन्नेबारे गठबन्धनमै समस्या छ । बस्नेत आफ्नो क्षेत्र छाडेर बाहिर नजाने अडानमा छन् । यो क्षेत्रमा कांग्रेसले नै टिकट पाउनुपर्ने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना बताउँछन् । उता माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले कांग्रेसमा मोहनले भनेर मात्रै नहुने तर्क सार्वजनिक कार्यक्रमहरूमा दिइरहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले टिकट नपाए विद्रोह गर्ने अभिव्यक्ति त्यतिकै दिएका होइनन् । उनीसँग जनमत रहेको तथ्यांकले पनि देखाउँछ । पछिल्लो २०७९ को स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीभन्दा दोब्बर मत कांग्रेसको देखिन्छ ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मध्ये कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख/उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ । पहिले तीन वटा क्षेत्र हुँदा साविक क्षेत्र नं. २ बाट अहिले क्षेत्र नं. १ गाभिएका स्थानमा कमजोर भनिएको कांग्रेसले जितेको छ । कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जित हासिल गरेको छ । 

हालको क्षेत्र नम्बर १ को ५३ वटा वडा छन् । तीमध्ये कांग्रेसले मात्रै ३२ वटा वडा  जितेको छ । एमाले १६ वटा वडामा विजयी हुँदा माओवादी केन्द्रले ५ वटा मात्रै जितेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ । यो तथ्यांकले कांग्रेस अगाडि रहेको पुष्टि गर्छ ।

माओवादीको जनाधार नभएकाले टिकट बस्नेतले नै पाउनुपर्ने कांग्रेसीको अडान छ । उता माओवादी नेताहरू भने अघिल्लो चुनावमा जितेको भएकै कारण टिकट आफूहरूले पाउनुपर्ने बताउँदै आएका छन् । तसर्थ पछि चुनाव जित्नेभन्दा पनि अहिले टिकट ल्याउनेमा बस्नेत र सापकोटाबीच प्रतिष्ठाको लडाईं बनेको छ ।

यो क्षेत्रमा बस्नेत र सापकोटा मात्रै ‘हेभिवेट’ नेता होइनन् । एमालेका अरुण नेपाल, सरेश नेपालकोसमेत क्षेत्र यही हो । एमालेका यी दुवै नेता अहिले प्रदेश सांसद छन् । एमालेको पनि मत यो क्षेत्रमा राम्रो छ ।

साविकको क्षेत्र नं. १ मा अहिले साविकको क्षेत्र नं. २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा थपिएका छन् । यो सँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं. १, २ र ३ नं. वडा पनि अहिलेको प्रतिनिधि सभा १ मा गाँसिएको छ । साविकको क्षेत्र नं. २ बाट थोरै गाउँ गाभिएकाले साविक क्षेत्र नं. १ कै मतलाई आधार मान्दा र विगत पल्टाउँदा मतदाता अस्थिर भने देखिन्छन् । 

विगतका चुनावी नतिजा हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीले नतिजा आफ्नो पक्षमा पारेका छन् । २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहोराले १३ हजार ५ सय मत ल्याएर विजयी बनेका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका मोहनबहादुर बस्नेतले ११ हजार ९ सय मत प्राप्त गरेका थिए । ०५१ को निर्वाचनमा एमालेका बोहोराले १३ हजार ३ सय मत ल्याएर विजयी बने । उनले १३ हजार १ सय मत प्राप्त गरेका राप्रपाका पशुपतिशम्शेर राणालाई पराजित गरेका थिए ।

०५६ को निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले बाजी मारे । ०५१ मा ७ हजार मत ल्याएको कांग्रेसले ०५६ मा १९ हजार १ सय मत प्राप्त गर्‍यो । एमालेका बोहोराले १५ हजार ९ सय र राप्रपाका राणाले १० हजार मत ल्याए । ०५१ को तुलनामा कांग्रेसले १२ हजार र एमालेले तीन हजार मत थप्यो । 

०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३ सय मतसहित विजयी बने । एमालेले १३ हजार १ सय मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमै चित्त बुझायो भने कांग्रेसले ७ हजार ५ सय मत ल्यायो । 

अघिल्लोको तुलनामा संविधानसभा निर्वाचनमा कांग्रेसले १२ हजार र एमाले तीन हजार मत घटायो । २०७० मा यो क्षेत्रबाट कांग्रेसले १५ हजार २१ मत ल्याएको थियो । त्यस्तै एमालेले १४ हजार नौ सय ८९, माओवादीले १० हजार तीन सय ३० र राप्रपाले ५ हजार पाँच सय ६७ मत ल्यायो । ६४ को तुलनामा यो क्षेत्रमा कांग्रेसले एक सयभन्दा बढी प्रतिशत मत बढाएको देखिन्छ ।


Author

थप समाचार
x