दल

मोरङको दुई क्षेत्र जितेको माओवादीले ६ वटै क्षेत्रमा उम्मेदवार सिफारिस गर्‍यो

इकागज |
भदौ २०, २०७९ सोमबार १६:५ बजे

विराटनगर - २०७४ को निर्वाचनमा नेकपा गठबन्धनबाट मोरङका दुई वटा क्षेत्र जितेको माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनका लागि ६ वटै प्रतिनिधिसभा क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ । केन्द्रमा सिट बाँडफाँट कार्यदलले सिट संख्या र क्षेत्र टुंग्याउन नसक्दा माओवादीले मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो । जसमध्ये १, २, ४ र ५ गरी चारवटा निर्वाचन क्षेत्रमा भने एकल नाम सिफारिस गरेको जनाइएको छ ।

क्षेत्र नम्बर १ बाट पार्टी प्रदेश कमिटी सदस्य प्रेम मिभक लिम्बू र क्षेत्र नम्बर २ मा गणेश उप्रेतीको एकल नाम सिफारिस गरेको छ । उप्रेती पार्टीको प्रदेश कमिटीका सचिव हुन् । क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी पनि एकल सिफारिस भएका छन् । माओवादी केन्द्रीय सदस्य समेत रहेका मोदी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए ।


२०७४ मा बाम गठबन्धनबाट निर्वाचित भएका शिवकुमार मण्डल क्षेत्र नम्बर ५ मा एकल सिफारिस भएको माओवादीका विराटनगर महानगर सह–इन्चार्ज भोगेन्द्र मण्डलले जानकारी दिए । मण्डलले कांग्रेसका नेता अमृत अर्याललाई पराजित गरेका थिए ।

बाँकी रहेको क्षेत्र नम्बर ३ र ६ भने माओवादीका आकांक्षी धेरै देखिएका छन् । ३ बाट माओवादीका सावित्रीकुमार काफ्ले, खेम भट्टराई र खेम सुन्दासको नाम सिफारिस भएको हो । पार्टी पोलिटब्युरो सदस्य रहेका काफ्ले २०६४ को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यसैगरी क्षेत्र नम्बर ६ मा हेम कार्की, शिव कार्की र नविन पौडेलको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । पौडेल हाल माओवादी केन्द्रको विराटनगर महानगर कमिटीका अध्यक्ष हुन् । हेम कार्की भने नेकपा गठबन्धनताका महानगर कमिटीको सचिव थिए ।
 


Author

थप समाचार
x