दल

नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत जाने प्रचण्डको चेतावनी

सुभाष कर्ण |
भदौ २०, २०७९ सोमबार १७:१९ बजे

जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन । सोमबार मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले पहिलो पटक राष्ट्रपतिले दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको बताए । 

`तर अब संविधानमा दोश्रो पटक फिर्ता पठाउने व्यवस्था नै छैन, ढिलो चांडो उहाँले प्रमाणीकरण गर्नैपर्छ ढुक्क हुनुस्` उनले भने, `यदि प्रमाणीकरण गर्नुभएन भने हामी अदालतसम्म जानेछौं । कानुनतः हामी अदालतबाट आदेश गराएर राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्न लगाउनेछौं ।` 


एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आउँदो मंसिर ४ गते निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच सिटको बाँडफाँड भइसकेको  दाबी गरे ।   कुन प्रदेशमा कसले कति लिने भन्ने बारे छलफल हुन बांकी रहेको उनले बताए ।  

उनले भने, `हामी गठबन्धन दलबीच जुन दलले जहाँबाट जितेकाछौँ त्यो क्षेत्र नै राख्ने गरी मोटामोटी सहमति भएको छ । जुन ठाउँमा गठबन्धन बाहेकका दल जितेका छन् त्यस क्षेत्रका लागि कसले कुन लिने भन्ने बारे छलफल गर्न बांकी छ ।` 

मधेश प्रदेशमा माओवादीले कति सिट लिने भन्ने जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, `यस प्रदेशमा हामीले प्रतिनिधि सभातर्फ जितेका ६ वटा सिट कन्फर्म नै छ, कोटामा पर्ने अन्य सिट आफ्नो संगठनको अवस्था र स्थानीय तहको आधारमा लिनेछौं तर त्यस सम्बन्धमा चाँडै नै गठबन्धन दलबीच छलफल भएपछि सुनिश्चित हुनेछ ।`  

पाँच दलीय गठबन्धनले सिट संख्या टुङ्ग्याईसकेको भन्दै उनले संघ र प्रदेश टुंगिन बाँकी रहेको समेत बताए । उनले आज भोलिसम्म बैठकबाट छलफल गरेर गठबन्धनले क्षेत्र र प्रदेशको पनि टुंगो लगाउने बताए ।

प्रादेशिक केन्द्रीय सदस्यको बैठकमा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यास समेत गरेका छन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x