दल

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

इकागज |
भदौ २२, २०७९ बुधवार ६:५८ बजे

काठमाडौं - सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ। 

मंगलबार अबेरसम्म कार्यदल बैठक बसेको थियो । कार्यदल करिब करिब सहमतिनजिक रहेको नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।  'आज साँझ बैठक बस्छ । करिब करिब सहमतिनजिक छौँ,' उनले ने, 'सहमति लिपिबद्ध गरेर नेतृत्वलाई जानकारी गराउँछौँ । प्रतिवेदन शीर्ष नेतालाई बुझाउँछौँ ।'


दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बताए । 

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् । 

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । 


Author

थप समाचार
x